एक सय २९ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
दमौली (तनहुँ)। तनहुँको ऋषिङ गाउँपालिकाले १२९ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। गाउँपालिकाले सबै वडाका विपन्न नागरिक छनोट गरी स्वास्थ्य बिमा गरिदिएको हो।
विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्रका आठ वटै वडाका विपन्न नागरिक छनोट गरी स्वास्थ्य बिमा गरिएको छ। प्रवक्ता दरैले भने, ‘विपन्न नागरिक आर्थिक अभावका कारण सहज रूपमा स्वास्थ्यको पहुँचमा आउन सकेको अवस्था छैन। स्वास्थ्य बिमापश्चात् त्यस्ता परिवारलाई सहयोग पुग्नेछ।‘
बढीमा पाँच जना सदस्यसम्मका विपन्न परिवार वडा समितिले छनोट गरेको छ। गाउँपालिकाभित्र रहेका सात जना बिमा दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने काम भएको हो।
प्रवक्ता दरैका अनुसार वडा नं १ का १०, वडा नं २ का १७, वडा नं ३ का १८, वडा नं ४ का १७, वडा नं ५ का १५, वडा नं ६ का १७, वडा नं ७ का १७ र वडा नं ८ का १८ जनाको परिवारको स्वास्थ्य बिमा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै बिमा रकम तिर्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गराइएको उल्लेख गरे।
जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्डका अनुसार अझै ५५ प्रतिशत जनता स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर छन्। जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये एक लाख ४५ हजार ७९८ जना स्वास्थ्य बिमाको पहुँचमा रहेको कार्यालयले जनाएको छ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको रु ७०० का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ। स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment