प्रदेश गौरबका दुई सडक योजनाको काम बढेन अघि

डिसी नेपाल
१६ असोज २०८२ ११:१९
16
Shares

पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन्।

जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोकसल्यानघाखेतधारापानी ठोट्नेरी सडक र लुंखुदेउरालीमिलनचोकबालाकोटहोश्राङदी सडक अलपत्र अवस्थामा छन्। दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लगाइएका यी सडक छ वर्षसम्म पनि पूरा हुन सकेका छैनन्।

रु २८ करोड १३ लाखमा काम सुरु भएको मिलनचोकसल्यानघाखेतधारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ। यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन।

सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए। दश किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ।

अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ। निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए। सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो।यसैगरी, रु ११ करोड २२ लाख ६६ हजारमा निर्माण सम्झौता भएको लुंखुदेउरालीमिलनचोकबालाकोटहोश्राङदी सडक पनि चार वर्षदेखि अलपत्र अवस्थामा छ।

यो सडकखण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ। लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए। पटकपटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ।

सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ। पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले बताए।

निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नं ५ काफलडाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उहाँको भनाइ छ। पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.