शहीद श्रीयमका बुबा गणेश भन्छन्- शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं

डिसी नेपाल
१७ असोज २०८२ १६:४४
104
Shares

काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन्। उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन्।

‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं। कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको।’

उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफैंले सम्हाल्नुपर्छ। ‘हामी आफैंले तय गरौं कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔं, मन्त्रीहरूलाई भेटौं, अनि हाम्रो आवाज राखौं। सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौं,’ उनले भने।

चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन् अन्तरिम सरकार पनि पहिलेको जस्तै हो।’

उनले जेनजी आन्दोलनको नेतृत्वसम्बन्धी अन्योल हटाउन पनि आग्रह गरे। ‘पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,’ चौलागाईंले भने।

उनले थपे, ‘अब देश बनाउने काम सबै मिलेर गरौं। युवाहरूले रोजगार पाउनुपर्छ। तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ। जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो।’

चौलागाईंले भोलि असोज १८ गते, शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिए। साथै सबै शहीद परिवारका प्रतिनिधिहरुलाई पनि सिंहदरबार अगाडि भेला हुन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.