पहिरो खसेपछि कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध
हेटौंडा। लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी-फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो।
मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार काठमाडौं हिँडेका सवारी साधनलाई कलङ्की र सिमखोला आसपासका क्षेत्रमा रोकिएको छ। यात्रुहरूलाई तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्र गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए।
यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ। प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ।
प्रशासनका अनुसार लगातारको वर्षा जारी रहेकाले अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम उच्च रहेको छ।
सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा यात्रुहरू मारमा परेका छन्। यातायात बन्द हुँदा दैनिक जीवन प्रभावित भएको छ भने आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने देखिएको छ। अधिकारीहरूले मौसम सुधार भएसँगै पहिरो हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।







डिसी नेपाल







Facebook Comment