सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

डिसी नेपाल
१९ असोज २०८२ ३:४१
252
Shares

बरहथवा । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो।

लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ। पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन्।

जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ। योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।

यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ। आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो। रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ।

यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिए। उनका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामलगायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ।

त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.