जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले के भने?
काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ।
आइतबार तीन जना घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो।
घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए।
‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरुलाई परिचयपत्र वितरण गरेका छौं,’ रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं। आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्यौं।’
उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ। यस्तै, अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरुलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो। जेनजी घाइते कार्ड पाएपछि घाइतेहरुले अन्तरिम सरकारले सोचे अनुसार काम गर्न नसकेको दुखेसो व्यक्त गरे। उनीहरुले देशभर सयौं घाइतेहरु उपचाररत रहेपनि सरकारले ध्यान नदिएको बताए।
जेनजी घाइते कार्ड वितरणमा जेनजी डाक्टर जगत विकले समन्वय गरिरहेका छन्। उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरे।







डिसी नेपाल







Facebook Comment