चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौं । आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ।
विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ। शनिबार वर्षाले गर्दा मान्यजनकहाँ जान नसकेकाहरुले आज बिहानदेखि काठमाडौँ उपत्यकामा पानी पर्न छोडेपछि सहज रूपमा हिँड्न पाएका थिए।
यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व मनाउँछन्।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ। नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन्। असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment