कविता : सरकारहरु

प्रकाशचन्द्र खतिवडा
२५ असोज २०८२ ६:५१
44
Shares

मान्छेहरु आकाश ताकेर
के हेरी बसेका हुन कुन्नि?
वर्षाले लछ्रप्पै रुझेर
लाज जोगाउन मुश्किल हुने गरी।

तिनीहरु थकाइले गलित जस्ता देखिन्छन्
तिनीहरुको आफ्नै टहरा छ कि छैन?
तिनीहरु नागरिक हुन या अनागरिक
राज्यले लेखा जोखा राखेको छैन
नागरिकताविहीन अनागरिक भएर
नागरिकता प्राप्तिको खोजिमा भौतारिएका होलान् तिनीहरु
बाढी पहिरोले घर खेत बगाएर
घरबारविहीन भएका होलान तिनीहरु
विपत्मा आफन्त गुमाएर शोकमा रोइरहेका होलान तिनीहरु।

म सुन्छु
सरकारहरु बाहिरा छन्
सरकारहरु अन्धा छन्
र सरकारहरु लङ्गडा छन्
जनादेशलाई लत्याएर
भ्रष्टचारको आहालमा डुबी
निरंकुशता उन्मुख
कानुनी राज्यको उपहास गर्दै
सत्ता पतनको दलदलमा
फसेका छन् सरकारहरु।

सुकुम्बासीलाई घर देउ
अनागरिकलाई नगरिकता देउ
पीडितलाई राहत देउ
म अधिकारकर्मी हुँ
म निःशब्द हुन मिल्दैन।

जनजिविकाका मुद्दाहरु
सल्टाउन नसक्ने भए
राष्ट्र र राष्ट्रियता बचाउन नसक्ने भए
तिम्रा विरुद्ध
म रिट दायर गर्छु
कानुनको सर्वोच्चता छ कि छैन?
तिम्रा विरुद्ध फैसला नआए
म विद्रोह गर्छु
सरकारहरु राजीनामा देउ
तिम्रो सत्ता लिप्साले
देशहरु बर्बाद भै सके।

तिम्रो संविधानमा लेखिएको मौलिक हक
देखाउने दाँत बनाई
म माथि शासन गर्दैछौ
मलाई रैती बनाएर।

म तिम्रो रैती हैन
तिम्रो आदेश मान्नलाई
मैले क्रान्तिको नारा लगाउनु छ
मैले मुक्तिको गीत गाउँनु छ
जब ढल्छन् अत्याचारी सरकारहरु
तब मैले न्याय र स्वतन्त्रताको विगुल बजाउनु छ।

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *