सञ्चारमन्त्री र संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजक हाना सिंगर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी थिए।
मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसंघले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले भने, ‘अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो। आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ। घोषित निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ।’
मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायले पुर्याएको सहयोगको उच्च प्रशंसा गरे। साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ।
त्यस अवसरमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भनिन्, ‘नेपाल सरकारले संकटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ। हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पुर्याउन प्रतिबद्ध छौँ।’
युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भने, ‘डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौँ।’ यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताए। भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment