तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच
रामेछाप। नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ।
तिहार नजिकिएसँगै रामेछापका प्रमुख हाटबजारहरूमा टीकाको रङ्ग, भाइमसला, टोपी, रुमाल, श्रृङ्गारका सामान किनबेच गर्नेको सङ्ख्या बढेको हो।
सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाटमा तिहारको सामान किनबेच गर्नेको निक्कै भिड देखिन्छ। सोमबारको हाटको मुख्य आकर्षण र जमघट नै तिहारका सामान किनबेचमा थियो।
सोमबारे हाटमा तिहारको सामान बेच्न आएका व्यापारी रामगोपाल साहले अब हाटबजारमा तिहारको सामानको किनबेच सुरु भएको बताए। यो हप्तैभरि सबै हाटबजारमा तिहारको सामानको किनबेच हुने उनले सुनाए।
तिहारको सामान बिक्री गर्ने व्यापारीहरू हप्तैभरी रामेछाप र दोलखाका विभिन्न हाटबजारमा पुग्ने उनले जानकारी दिए।
सोमबारको मन्थलीको हाट सकेपछि मंगलबार मन्थलीकै फुलासीको हाट, बुधबार लिखु तामाकोशीको धोबी हाट, बिहीबार रामेछाप नगरपालिकाको रामेछाप बजारको हाट, शनिबार रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको साँघुटार, शुक्रबार छौँडेको हाट र अर्को सोमबार पुन मन्थलीको हाट भ्याउन आउने उनले बताए।
आउने सोमबार मन्थलीको तिहारको अन्तिम हाट भएकाले निक्कै राम्रो व्यापार हुने रामगोपालको अनुमान छ।
त्यसो त बजारमा पनि तिहारका सामानहरू पाइन्छन्। तर हाटमा तिहारको सामान बजारको भन्दा सस्तोमा पाइन्छ भन्ने परम्परागत मान्यताको कारण हाटमा सामान किन्नेहरूको भिड लाग्ने गर्दछ। हाटमा प्रशस्त ग्राहकहरू आउने भएकाले व्यापारी पनि सामान बेच्न हाटमा नै पुग्ने गर्दछन्।



















No ads found for this position

डिसी नेपाल
Facebook Comment