सप्तरीमा आगलागीबाट नौ लाख बराबरको क्षति

डिसी नेपाल
१३ कार्तिक २०८२ ९:०१
16
Shares

सप्तरी। सप्तरीमा आगलागीबाट नौ लाख बराबरको क्षति भएको छ । हनुमाननगर कंकालिनी  नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेजस्थित दुई घरमा आगलागी हुँदा नौ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

स्थानीय बैजनाथ मण्डलको बाँसको टाटी र खरको छानोले बनेको फुसको गाईगोठमा बालेको घुरबाट मङ्गलबार राति २ बजेतिर सल्किएको आगोले मण्डलको एकवटा बाख्रा जलेर मरेको र गोठसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, सोही आगलागीबाट नजिकै घर भएका राधेश्याम मण्डलको टिनको छानो र बाँसको टाटीको घर पनि जलेर नष्ट भएको छ । उक्त घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर करिब चार लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीबाट नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा आगो करिब राति ३ः३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.