लघुकथा : पूजा

प्रकाशचन्द्र खतिवडा
१५ कार्तिक २०८२ ७:३९
124
Shares

“पूजा, कागजातहरु ठिक पारि सक्यौ त? कति दिन लाग्छ भिसा आउन ?” मैले पूजालाई प्रश्न गरेँ। “सबै कागजात ठिक पारि सके। आजै  एप्लाई गर्नु पर्छ। भिसा आउन बढिमा ३ महिना लाग्छ।” पूजाले जवाफ फर्काइन्।

पूजा मेरी बुहारी हुन्। क्यानडा जाने तयारी गर्दै छिन्। छोरो ६ महिना अगाडि नै क्यानडा गई सकेको छ। प्रतिरोध एक्लो छोरो हो मेरो। पूजा पनि एक्ली छोरी हुन्। विदेश जान पर्ने नै थिएन। विदेशी मोह किन पलायो, पलायो? स्नातक गरेकै थिए। मास्टर्स पढ्दै लोकसेवा  दिएको भए पनि हुने।

लोक सेवा  नदिई अवसर छैन भन्नु मुर्खता हो। सेना प्रहरीमा पनि राम्रै पोष्ट पाउँथे होलान्। निजी कम्पनीमा पनि काम पाइन्थ्यो होला। बन्द व्यापार गर्दा पनि हुने नै थियो।

कुनै विकल्पको प्रयोगै नगरी विदेशीने लहडले आमा, बुबा र परिवार जनमा निराशा  छाएको छ। घर परिवार र जाय जेथा कसका लागि थामी दिने? हात पाउ चलुन्जेल  त ठिकै  छ। हात पाउ चल्न छोडेका दिन के हुने? के धन संपत्ति नै सब थोक हो? मरेर जाँदा कस्ले के पो लगेको छ र?

“पूजा क्यानडा नगए हुन्न? तिमी एक्ली छोरी र एक्ली बुहारी हौ त। तिमीलाई नपुग्दो के छ? वि.एस.सी गरेकी मान्छे। वि.एस.सी  शिक्षक नपाएर विद्यालयहरुमा कत्रो हाहाकार छ। वि.एस.सी शिक्षक खाँदा के हुने?” मैले सम्झाउने कोशिस गरेँ। “आ बुबा पनि। नेपालको तलबले जिविकै चल्दैन के। जीवन स्तर कसरी उकास्ने? तपाई  जे  सुकै भन्नोस, देशमा रोजगार र गुणस्तरीय शिक्षै छैन के। विदेशिनु कुनै रहर हो र बुबा।”  पूजाले मलाई रेडिमेड उत्तर दिइन्।

मैले सोचें। वास्तविकता  पूजाले भने जस्तै हो त? रोजगारी र गुणस्तरीय शिक्षाकै खोजीमा युवाहरु पलायन  भएका हुन त? हो भने यो देशको  दुर्भाग्य हो। पूजाहरुले राष्ट्रियता बुझेको खै?

सुन्दरहरैंचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *