‘को बन्छ करोडपति’मा एक करोड जितेका राजीवले पाए चेक, भने– पहिले वल्र्ड होइन्, नेपाल घुम्छु
काठमाडौं। लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’को पहिलो संस्करणमा एक करोड रुपैयाँ जितेका विराटनगरका राजीव जैनले आफू नेपाल घुम्ने योजनामा रहेको बताएका छन्। विजेता बनेको झण्डै तीन महिनापछि बिहीबार राजधानीमा एक करोडको चेक लिँदै जैनले सो पैसाले आफू पहिले नेपाल घुम्ने योजना बुनेको बताए।
‘शो मा उपस्थित हुँदा एक करोड जिते वल्र्ड टुरमा जाने भन्नुभएको थियो, जानुहुन्छ ?’ सञ्चारकर्मीको प्रश्नमा उनले भने, –‘हट सिटमा बस्दा त्यो उत्तर आएको थियो। अहिले भित्रैबाट सोँच्दै जाँदा मैले त्यो कुरालाई मोडिफाइ गरेको छु। अब पहिलो प्राथमिकता मलाई मेरो देश घुम्नु छ।’
कार्यक्रममार्फत नेपाली जनताले आफूप्रति अथाह माया देखाएको बताउँदै आफ्नो पनि देशप्रति दायित्व रहेको बताए। ‘नेपालीहरुको माया बोकेपछि मेरो पनि दायित्व हुन्छ। देशमा पर्यटनलाई टेवा दिने विभिन्न कार्यक्रमहरु हुन्छन्। म त्यसमा सहभागी हुनुपर्छ भन्ने सोँचेको छु’ उनले भने, ‘पहिला देश घुम्ने हो, त्यसपछि बल्ल विदेश घुम्ने योजना छ।’
उनले आफ्नो काका समाज सेवामा रहेको हुनाले त्यसमा पनि आफ्नो केही पैसा सहयोग हुने बताए।
जैनलाई कार्यक्रम प्रस्तोता अभिनेता राजेश हमाल, कार्यक्रम उत्पादक संस्था एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, सिभिल बैंकका सीईओ गोविन्द गुरुङले चेक हस्तान्तरण गरेका थिए। शो एपीवान एचडि टेलिभिजनमा प्रशारण हुन्थ्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment