कविता : जीवनको खेती

प्रकाशचन्द्र खतिवडा
२२ कार्तिक २०८२ ७:११
84
Shares

मौसम खुलेकै थिएन
बेमौसमी बाजाहरु बजिरहेका थिए
मानिहरुमा उत्साह थिएन
सडकमा मान्छेहरु टोलाएको देखेर
सडक रोइरहेको थियो
मानिसहरु मौन थिए
विद्रोहको कुनै संकेत थिएन।

प्रेमीकाले दिएको धोखा बिर्सन नसकी
प्रेमी झोक्राइ रहेको थियो
अजम्बरी भनेर गसिएको प्रेम
पानीको फोका जस्तै फुटेर गएको थियो
विश्वासका पर्खालहरु ढालिएर
अविश्वासका बादल मडारिरहेको थियो
जिन्दगीको कुनै भरोसा थिएन
जिन्दगी आफै पासोमा परेको थियो।

अल्झेर पुराना यादहरु
चसकक छाती दुखे पछि
बल्झेर पुराना घाउहरु
खाटा बस्नै नपाए पछि
जिन्दगीको यात्रा तुहिएको
गन्तव्यहीन यात्री जस्तो
हराएको बाटो खोज्दै
उ भौतारि रहेकै छ
जिन्दगीको पभिाषा खोज्दै खोज्दै।

समय स्वार्थले दनदनी बलेको छ
स्वार्थको आगो तापेर मान्छेहरु
आफन्त माथि नै जाइ लागेको छ
समय लाजले शिर निहुराउँछ
मान्छे धनको घमण्ड गर्छ
मृत्युलाई विर्सिएर।

म नांगोे सडकमा उभ्भिएको छु
मान्छेहरु कानेखुशी गरिरहेछन्
प्रतीक्षालयमा विश्राम गरेर
आज जुलुस छैन
सडक शान्त छ
अपांगहरुको एउटा हुल
आकाशे पुल माथि ओहोर दोहोर गर्छ
दुःखको गीत गाएर
सहानुभूति राख्दैन मान्छे
अपाङ्गहरुको आवाज
विलीन भएर जान्छ
मध्य आकाश तिर।

म प्रताडित छु अन्धकारबाट
म माथि धोखा थोपरिएको छ
म बाँच्नै नजान्ने
जीवनको खेती गर्दै
प्रेमको परिभाषा नभेटे पछि
जीवन खोजिको दौडाहमा छु
मैेले जीवन भेटेकै छैन
मृत्यु मलाई गिज्याउँछ
ओ मनुष्य!
तिमी भागेर कहाँ जान्छौ ?
तिम्रो आयु
मेरो मुठ्ठीमा छ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *