हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ
बाजुरा। बाजुराका उच्च हिमाली तथा लेकाली भू-भागमा अत्याधिक चिसो बढ्न थालेपछि यहाँका भेडीगोठ बेँसीतिर (औल) झार्न थालिएको छ।
यहाँका नौं वटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्दै आएका भेडीगोठ हिमपात संगै चिसो बढ्न थालेपछि बेँसितिर झार्न थालिएको हो। गत जेठमा लेक चढेका भेडीगोठ चिसो बढेपछि धमाधम बेसी झर्न थालेका हुन्।
लेकबाट बेँसितिर भेडा झर्न थालेपछि विभिन्न ठाउँ भेडाबाख्राका बथानले भरिएका छन्। बाजुरामा कात्तिकको पहिलो सातादेखि अत्याधिक चिसोसंगै उच्च हिमाली क्षेत्रमा हिमपात भएर यहाँका चिसो बढिपछि भेडीगोठलाई कठिनाई भएको हो।
चिसोका कारण भेडाबाख्राको चरनको लागि कठिनाइ भएकाले बेँसीतिर भेडीगोठ सार्न थालिएको बाजुराको बुढिनन्दा नगरपालिका–९ अगाउपानीका भेडापालक कृषक शिव थापाले बताए। उनका अनुसार हिमालमा हिमपातसंगै चिसो बढेपछि भेडीगोठ धमाधम बेँसीतिर झार्न थालिएको बताएका हुन्।
चिसोको समयमा भेडीगोठ बेँसीतिर झार्ने र गर्मी महिना सुरुवात भए पश्चात् पुनःभेडीगोठ हिमालतिर सार्ने प्रचलन रहेको थापाले बताए।
आफूले पनि करिब दुई सय भेडा पालेको बताउँदै उनले अहिले चिसोको समयमा हिमालमा चरन पनि नहुने र अत्याधिक जाडो हुने भएकोले बेँसीतिर झारिएको जानकारी दिए।
यहाँका भेडी गोठालाहरु हप्तौंको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ। यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन्। गर्मि महिना सुरु भए पुनः हिमाल तिर चढ्ने गर्छन्।
बाजुरामा उचित किसिमको वनको व्यवस्थापनका नहुँदा भेडाबाख्राको चरिचरनमा समस्या हुँदै आएको छ। जसका कारण भेडापालनमा चुनौती थपिँदै आएको हो। बाजुरामा ६ सय ७३ भेडीगोठमा लगभग ५० हजारको हाराहारीमा भेडाबाख्रा रहेका छन्।तर बर्षेनी चरिचरन अभावका कारण भेडापालनमा कमी हुँदै आएको हो।







डिसी नेपाल








Facebook Comment