रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ।
भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।
विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले यस्तो कदम चालेको प्रधानाध्यापक जेस्पुचाले बताए। उनका अनुसार कात्तिक ३० गते आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परेका छन्।
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन्। ‘हाल गाउँपालिकाका सातै वडामा १ सय ३९ महिला र १ सय ४४ पुरुष गरी २ सय ८३ जना भाइरल फ्लुका बिरामी उपचारमा छन्,’ उनले बताए।
उनका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गरी ४ सय १३ विद्यार्थी बिरामी परेका छन्। ‘अधिकांश बिरामीमा ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने, र बान्ता हुनेजस्ता लक्षण देखिएका छन्,’ स्वास्थ्य शाखा प्रमुख सुनुवारले बताए।
उनका अनुसार केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएको छ। त्यसैले उच्च सतर्कता अपनाउन र विद्यालय तथा सार्वजनिक स्थानहरूमा भीडभाड कम गर्न गाउँपालिकाले अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।







डिसी नेपाल







Facebook Comment