नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेता सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग पाँच बुँदे सहमति गरेका छन्।
आगामी मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्नेगरी रास्वपाका निवर्तमान प्रमुख सचेतक परियारले सहमति गरेका हुन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेता परियारले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ, “एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउँदछौं, देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौं।”
सहमतिपत्रमार्फत उनीहरूले भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न पनि अपिल गरेका छन्।
उनीहरूले भनेका छन्, “विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबैखाले मुक्ति आन्दोलनदेखि पछिल्लो जेनजी आन्दोलनसम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, घाइते, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”

No ads found for this position



डिसी नेपाल
Facebook Comment