स्वाभिमानी छापामारको कथा
रामजनम चौधरीले मधेशवादी दलको झोला बिसाएर स्वतन्त्रताको अनुभूति गर्यो। मधेशवादी दलमा प्रवेश गर्नु पूर्व रामजनम माओवादी सैन्य कमाण्डर थियो। माओवादी स्कुलिङमा हुर्किएको ऊ अनुशासित र बफादार थियो।
माओवादी शान्ति प्रकृयामा आएपछि उसको जीवनमा हलचल आयो। उसलाई अयोग्य लडाकुमा दर्ज गरियो। हतियार खोसियो। पछि रकम पाउने आश्वासन दिएर घर फर्काइयो!
उसलाई जिल्ला तहको जिम्मेवारी समेत दिइएन। उसलाई नगर कमिटीमा सीमित गरियो। उसलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै उसले नगर कमिटी परित्याग गर्ने निर्णय लियो।
वर्षौं बित्दा पनि उसले राहत रकम प्राप्त गर्न सकेन। क्यान्टोनमेण्ट धायो। नेताहरुलाई भेट्यो। अँह रकम पाउन सकेन। आश्वसन मात्रै पाइरह्यो। उ माआवादीप्रति क्रमशः वितृष्णित बन्दै गयो। नगर कमिटी परित्याग गरेकोमा उसलाई पार्टीले स्पष्टिकरण माग्यो। उसले स्पष्टिकरण दिनु उचित ठानेन।
उसले स्पष्टिकरण नबुझाए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी उसलाई पार्टीबाट निश्कासन ग¥यो। अब उसको दश वर्षे जनयुद्धकालीन भूमिका पार्टीले धुलीसात बनाइ दिएको थियो।
उसले पार्टीमा पुनरावेदन गर्ने विचार ग¥यो। पुनरावेदन ग¥यो। उसको पुनरावेदनको सुनुवाइ भएन। एउटा इमान्दार योद्धालाई रुन बाध्य पारियो। पार्टीबाट उ जस्ता दर्जनौं कार्यकर्ता निश्कासनमा परेका थिए। पार्टीमा नवधनढ्यहरुको बोलचाल बढि रहेको थियो।
रामजनमले राजनीति नगर्ने निष्कर्षका साथ फर्निचर उद्योग स्थापना गर्यो। उसलाई फनिर्चर निर्माण सम्बन्धि ज्ञान थियो। दुई जना कामदारको साथ लिएर उसले फनिर्चर निर्माणको कार्य अगाडि बढायो। फर्निचर उद्योग राम्रै चलिरहेको थियो।
उसलाई मधेशवादी दलहरुले मधेश राजनीतिमा आउन आग्रह गरिरहेका थिए। मधेश आन्दोलन उत्कर्षमा थियो। मधेश प्रदेश नामाकरण गरी स्वायत्त अधिकार प्राप्त मधेश स्थापनाको लागि मधेश आन्दोलन चलिरहेको थियो। मधेश आन्दोललाई रामजनमले नजिकैबाट नियाली रहेको थियो।
स्वायत्त मधेशको मुद्दा प्रति ऊ आकर्षित भयो। वर्षौं देखिको उत्पिडन र विभेद अन्त्य गर्नका लागि मधेश आन्दोलन अपरिहार्य भएको ठहर गरी ऊ मधेश आन्दोलनमा होमियो। उसलाई सिरहा इन्चार्जको जिम्मेवारी दिइयो।
आन्दोलन संयोजन तथा परिचालनमा उसले आफूलाई केन्द्रीत ग¥यो। आन्दोलन परिचालनका लागि अर्थ व्यवस्था सुदृढ हुन जरुरी ठानी उसले व्यापारी र शिक्षालाई आर्थिक सहयोगको अपिल ग¥यो।
चन्द्रा दिएर हैरान भएका व्यापारी र शिक्षकले उसको अपिलको अवज्ञा गरे। एमाले, माओवादी, काग्रेस र सद्भावना जस्ता दललाई वर्षै पिच्छे चन्दा दिएर व्यापारी र शिक्षक थाकेका थिए। सबैले मधेश मुद्दा समाधान गर्ने आश्वासन दिन्थे। चुनाव जित्थे। मधेश युद्धा ओझेलमा पर्थ्याे।
मधेश आन्दोलन प्रति व्यापारी र शिक्षक विश्वस्त हुन सकिरहेका थिएनन्। पुराना दलबाट सास्ती पाएका उनीहरु पूनः सास्ति व्यहोर्न तयार थिएनन्।
रामजनम एक कदम पछि सर्न बाध्य भयो। उसले आन्दोलन समीक्षा गर्यो। आन्दोलनले धिमा गति मात्रै लिएको थियो। खाना र खाजा नभई आन्दोलन हाँक्न कठिन थियो। पर्चा पम्प्लेट पनि प्रकाशन गर्नै पथ्र्यो। स्वायत्त मधेशले प्राप्त गर्ने हक अधिकारको पुस्तिका सयौको संख्यामा प्रकाशन गर्न पर्थ्याे।
यातायात खर्च पनि वेहोर्नै पर्थ्याे। यी तमाम कामकालागि ठुलै रकमको आवश्यक पथ्र्यो। जिल्लागत खर्चहरु जिल्लालेनै बेहोर्ने निर्णय भएको थियो। केन्द्रीय नेताहरु वक्ताका रुपमा उपस्थित गराएर कोण सभाहरु संचालन गर्न पनि रकमै आवश्यकता पर्थ्याे।
रामजनमले भ्रमहरु चिर्दै आफ्नै नेतृत्वमा आर्थिक परिचालन कमिटी निर्माण गरी आर्थिक सहयोग संकलन अभियान चलाउने निधो गरी उ आफैं अभियानमा संग्लन रह्यो। व्यापारी र शिक्षक केही सकारात्मक देखिए पनि पूर्ण रुपमा विश्वासमा लिन रामजनमले ठुलै वैचारिक संघर्ष गर्नु पर्यो।
अन्ततः व्यापारी र शिक्षक सकारात्मक भए। आर्थिक पारदर्शिता कायम गर्ने शर्तमा व्यापारी र शिषकले आर्थिक सहयोग उपलब्ध गराए। रामजनम आफैले कोषाध्यक्षको सहयोगमा आर्थिक लेखा राख्ने व्यवस्था मिल्यो। नगदी रसिदहरु व्यस्थित गरियो। बैङ्किङ कारोबार गर्ने निर्णय भयो। व्यापारी र शिक्षकलाई धन्यवादसहित नगदी रसिद दिइयो।
एक घर एक आन्दोलनकारी अभियानले तिब्रता पायो। आन्दोलनमा महिलाको सक्रियता बढ्यो। युवा विद्यार्थी मेधश मुक्ति पाउने आशामा पढाइ हापेर आन्दोलनमा सरिक भए। सरकारी काम काज थप्प पारियो। विद्यालय र कलेज बन्द गरिए।
आन्दोलन प्रति सरकारको हेर्ने दृष्टिकोण सकरात्मक थिएन। सरकारले वार्ता भन्दा पनि दमनको रणनीति अख्तियार गर्यो। आन्दोलनमा दर्जनौं मधेशीयाहरुले शाहदत प्राप्त गरे। अब आन्दोलन हिंसात्मक बन्दै गईरहेको थियो। तोडफोड र आगजानीकाक घटना बढोत्तरी भैरहेका थिए।
चौतर्फी दबाब भएपछि आन्दोलन निस्तेज बनाउन सरकारले वार्ताको जालो फ्याक्यो। मधेशवादीहरु आन्दोलन स्थगित गरेर वार्तामा बस्न सहमत भए। वार्ता टोलिमा रामजनम सदस्यको रुपमा प्रस्तावित भयो।
सरकार स्वायत्त मधेश प्रदेशको विपक्षमा उभियो। प्रथम चरणको वार्ता निष्कर्षविहीन बन्न पुग्यो। एक हप्ता पछि दोस्रो चरणको वार्ता गर्ने गरी वार्ता स्थगन गरियो। दुवै पक्षको आन्तरिक तयारी पश्चात एक हप्ता पछि वार्ता टोली वार्तामा बसे।
मारिएकालाई शहीद घोषणा गर्ने, क्षपिूर्ति दिने, घाइतेहरुको निःशुल्क उपचार गरिने जस्ता मागमा सहमति भएपनि स्वायत्त मधेश प्रदेश दिन तयार थिएन। सविंधान पूनर्लेखन गर्ने कुरामा पनि सरकार सहमत देखिएन। सविंधान दुई तिहाइले संशोधन गर्न सकिने तर पुनर्लेखन गर्न नसकिने कुरामा सरकारी वार्ता टोली अडिग रह्यो।
सविंधान संशोधन गर्ने गरी दुई तिहाइ आउने अवस्था थिएन। आवश्यक गृहकार्य गरी तीन दिनपछि वार्तामा पुनः बस्ने सहमतिका साथ दोस्रो चरणको वाता पनि स्थगन गरियो। यस बीचमा मधेशवादी नेताहरुलाई सरकारले छुट्टाछुट्टै भेट्यो। सविंधान संशोधनको शर्त स्वीकार्न र मधेश प्रदेशमा सहमत हुन आग्रह गर्यो।
मधेशवादी नेताहरुमा दुई धार देखिन थाल्यो एउटा धार सरकारी शर्त मानेर जानु पर्छ भन्ने र अर्को धार सरकारी शर्त स्वीकार नगरी पुनः आन्दोलनमा जाने भन्ने धार। सरकार मधेशवादी नेताहरुलाई विभाजन गराउन सफल भएको थियो। सरकारी शर्त मानेर जानेको बहुमत देखिएपछि अल्पमतमा परेका नेताहरु बहुमतलाई गद्धार घोषित गरी वार्ता बहिष्कार गर्ने निर्णयमा पुगे।
तिन दिनपछि वार्ता भयो। सरकार र मधेशवादी दलहरु बीच पाँच बुँदे सहमति भयो। सहमतिप्रति रामजनमको असहमति रह्यो। मधेशवादी दलहरुको बहुमत पक्ष सरकारसँग बिक्री भएको आशंका व्यक्त गर्यो। उसले प्राप्त गर्ने कुरा गुमेकोमा नैराश्यता प्रकट गर्यो।
मधेशवादी दलको आन्दोलन छिन्नभिन्न बनेको थियो। मधेशवादी नेताहरु आफ्ना आफ्ना स्वार्थमा फसेका थिए। स्वार्थ समूह छुट्टाछुट्टै बनेका थिए। २०÷५० मिलेर नयाँ पार्टी खोलिएका थिए। सिंगो मधेशको प्रतिनिधित्व गर्ने हैशियतमा कुनैपनि दल रहन सकेनन्। खुट्टा तान्ने प्रवृत्तिको विकाश मौलाएको थियो। दलहरु एकअर्का प्रति आरोप प्रत्यारोपमा संलग्न थिए।
स्वायत्त मधेश प्रदेशको मुद्धा छोडेकोमा रामजनम उसको दलको कडा आलोचक बन्यो। ऊ जे सोचेर आन्दोलनमा होमिएको थियो, उसको सपना माथि कुठाराघात गरिएको थियो। उसमा राजनीति प्रति फ्रस्टेड भावनाको विकाश भयो।
अन्ततोगत्वा उ मधेशवादी दलबाट स्वतन्त्र रहने प्रयोजनको निमित्त दलको कुनैपनि जिम्मेवारीमा नरहने गरी साधरण सदस्य परित्याग गर्दै पदीय जिम्मेवारीबाट मुक्तिका लागि राजिनामा दियो। उसलाई दलले राजिनामा फिर्ता गरी पदीय जिम्मेवारीमा फर्कन आग्रह गर्यो। रामजनम आफ्नो निर्णयबाट विचलित भएन। ऊ स्वतन्त्र बस्यो।
१० वर्ष जनयुद्ध र ५ वर्ष मधेश आन्दोलनमा राजनैतिक जीवन व्यतित गरेको रामजनमलाई नेताहरुको जीवन शैली हेर्दा घृणा लागेर आउन थाल्यो। नेताहरु स्वार्थमा विकेको देखेर नेता प्रतिको आस्था मरेर गयो। नेतृत्वले आत्मा समर्पण नगरेको भए स्वायत्त मधेश प्रदेश प्राप्त हुन्थ्यो भन्नेमा उ विश्वस्त थियो।
स्वायत्तता विनाको प्रदेश नाम मात्रैको अधिकारविहीन प्रदेश हुने थियो। संविधान संशोधनले मात्रै समस्या समाधान हुने थिएन। संविधान पुनर्लेखन गर्न जरुरी थियो। मधेश वहिष्करणमा पारिएको थियो। केन्द्र मधेशप्रति अनुदार थियो।
१३ वर्ष मै छापामार भएको रामजनमकी आमा हुनुहुन्थ्यो। ऊ १० वर्षको हुँदा उसको बुबालाई हैजाले लगेको थियो। उसकी रामकली नाम गरेकी बैनी थिई। आमा र बैनीलाई पतै नदिई ऊ छापामार युद्धमा हिँडेको थियो। उसलाई जनयुद्ध थाहा थिएन। उसलाई वर्गीय युद्ध थाहा थिएन।
उसलाई जनमुक्ति सेना थाहा थिएन। उसलाई मात्र थाहा थियो, माओवादीले देशमा परिवर्तन गर्छन अरे। अन्याय अत्याचार हुँदैन रे। धनी गरिब हुँदैनन् रे। सबैलाई शिक्षा, स्वास्थ्य, आवास, लत्ता कपडा र खानाको व्यवस्था राज्यले मिलाउछ रे।
धनी गरिब नहुने कुरा र शिक्षा निःशुल्क हुने कुराले उसलाई छापामार हुन आकर्षित गरेको थियो। गरिबीको कारण उसले ५ कक्षा माथि पढ्न पाएको थिएन। उसको पढ्ने रहर अधुरै थियो।
आमा र बैनी रामजनम छापामार भएर हिँड्यो भन्ने खबरले चिन्तित बने। उसलाई घर फर्कन खबर गरे। ऊ फर्किएन। १ वर्ष पछि बन्दुक बोकेर छापामारहरुको साथमा रामजनम आमालाई भेट्न आयो। बैनी रामकली डाको छोडेर रोई। उसले बैनीलाई सम्झायो।
आमाको मन बुझायो। एक रात घर बसेर भोलि बिहानै छापामारको साथ लागेर ऊ हिँड्यो। आमा र बैनीले उसलाई देखियुन्जेल एकोहोरो हेरिरहे। जब देखिन छोड्यो। लामो सुस्केरा हाली खाटमा बसेर रोए। अनि मन बुझाए। क्रान्ति सफलताको कामना गरे।
रामजनमलाई पार्टीले प्लाटुन कमाण्डर बनाएर जुम्ला कार्य क्षेत्र तोक्यो। पहाड नहिँडेको मान्छे ऊ। उसलाई पहाड उक्लन गाह्रो लाग्ने नै भयो। सेना प्रहरीको आँखा छलेर चोर बाटो हिँड्न पर्थ्याे। भूमिगत शैलीमा हिँड्दा रातभरी पनि हिँड्नु पर्ने हुन्थ्यो। भोकै तिर्खै दुःखदायी यात्राको साथ १० दिन पछि उ जुम्ला पुग्यो। ऊ पुगेको पाँचौ दिनपछि जुम्ला आक्रमणको कार्यतालिका थियो।
उसको प्लाटुन उत्तरी मोहडाबाट खलंगा प्रवेश गरी प्रहरी कार्यालयमा बम विस्फोट गराई हतियार लुट्ने रणनीतिका साथ तैनाथ थियो। रातको ९ बजे पछि छापामारहरुले आक्रमण शुरु गरे।
३ घण्टाको युद्ध पश्चात जुम्ला सदरमुकाम छापामारहरुले कब्जामा लिन सफल भए। प्रहरीहरुले आत्मसमर्पण गरे। हातहतियार छापामारको टोलीले उठायो। १ बजेपछि छापामारहरु आफ्ना साथीका लाशहरु र घाइते बोक्दै जुम्लाबाट फर्किए।
रामजनमको प्लाटुनका क्रान्ति, दिग्गज र सोनियाले शाहदत प्राप्त गरे। रामजनम देव्रे पाखुरामा गोली लागि घाइते भयो। युद्धले उनीहरु भोकाएका थिए। साथमा रहेको चाउचाउ र विस्कुट खाएर भोक मारी उज्यालो हुँदा लासहरुको व्यवस्थापन सकि घाइते बोक्दै सुरक्षित सेल्टरमा पुगे। घाइतेहरुको प्राथमिक उपचार गरी थप उपचारका लागि भूमिगत शैलीमा भारत पठाउने निर्णय गरे। १ दर्जन छापामार घाइते थिए।
रामलखनले स्वाभिमानको लडाईं लड्यो। जनयुद्धमा होस् या मधेश आन्दोलनमा होस् उसले कसैसँग सम्झौता गरेन। पार्टीको रणनीति बमोजिम नै ऊ परिचालित भयो। उसले व्यक्तिगत फाइदाको अपेक्षा राखेन।
त्याग र बलिदानी भावनाले ओतप्रोत थियो ऊ। नेताहरुको कमजोरी प्रति सधैं औंला ठड्याइ रह्यो। उ हार्ड लाइनको मान्छे थियो। उसले आत्म सम्मान बेच्न चाहेन। उसको त्याग र समर्पणप्रति पार्टीहरुले पुरस्कृत गर्नुपर्नेमा आत्म सम्मानमा चोट पु¥याउने काम गरे। फलतः ऊ राजनीति प्रति फ्रस्टेड बन्दै गयो।
९ वर्ष पछि घर फर्कँदा उ रित्तो थियो। उसको साथमा हतियार थिएन। छापामारहरु थिएनन्। युद्धको चिनो देब्रे पाखुरामा गोली झिक्दा बनाइएको घाऊको खत टल्किरहेको थियो। उसले बुढी आमाको पाऊ छोयो। बैनीको टाउको सुम्सुम्यायो। आमा र बैनीले नदेख्ने गरी आँशु खसायो।
आमा र बैनी अवाक बने। उनीहरुको आँखाबाट खुशीका आँशु बर्सिरहेका थिए। आमा र बैनीले रामजनमलाई गम्लङ्ग अँगालो हाले। ऊ बोल्नै सकेन। चुपचाप उभ्भि रह्यो। उ सँग युद्ध जितिस भन्दा दिने जवाफ थिएन।
सुन्दरहरैंचा -६, दुलारी, मोरङ
















Facebook Comment