सुनकोशी-मरिण डाइभर्सनको ठेक्का सम्झौता तोडियो

डिसी नेपाल
३० कार्तिक २०८२ १९:४२
132
Shares

रामेछाप। राष्ट्रिय गौरवको आयोजना मध्येको एक सुनकोशी-मरिण डाइभर्सनको ठेक्का सम्झौता रद्द गरिएको छ। ठेक्का सम्झौता भएको ३ बर्षमा पनि बाँध निर्माण लगायतका अन्य काममा ९ प्रतिशत भन्दा बढी प्रगति नभएपछि आयोजनाले १४ दिनको सूचना दिएर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने निर्णय गरेको जलश्रोत तथा सिंचाई बिभागका योजना कार्यक्रम तथा अनुगमन शाखाका सिनियर डिभिजन इन्जिनियर प्रेमहरी पराजुलीले जानकारी दिए।

२०८४ साल सम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनी पटेल-रमण जेभीले अहिलेसम्म जम्मा ९ प्रतिशत मात्र काम सम्पन्न गरेको बिभागले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि आयोजनाको प्रगति नभएपछि बिभागले ठेक्का तोड्ने अन्तिम सूचना जारी गरेको हो।

आयोजनाको बाँध निर्माण लगायतका यससँग सम्बन्धित अन्य कामहरुको प्रगति नभएको बिभागले जनाएको छ। सुनकोशी-मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएर परिक्षण भइसक्दा पनि रामेछापको मन्थली नगरपालिका वडा नं ६ मा निर्माणाधिन आयोजनाको बाँध निर्माणको काममा कुनै प्रगति नभएपछि बिभागले बाध्य भएर ठेक्का तोडेको सिनियर डिभिजन इन्जिनियर पराजुली बताउँछन्।

ठेक्का तोडिएसँगै बिभागले निर्माण कम्पनी पटेल-रमण जेभीको बैँक ग्यारेन्टी बापतको रकम जफतको प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ। निर्माण कम्पनीले ४ बर्ष ७ महिनामा बाँध निर्माणको काम सक्ने गरी ०७९ साल माघमा १४ अर्व ७ करोड रूपैयाँमा ठेक्का लिएको थियो।

उक्त बहुउदेश्यीय आयोजनाबाट सुनकोशी नदिमा ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण गरेर १३ किलोमिटर लामो सुरुङ्गमार्फत सिन्धुलीको कुसुमटार स्थित मरिण खोलामा पानी खसालेर ३१ मेगावाट बिद्युत उत्पादन गर्नुका साथै तराइका जिल्लाहरुमा सिँचाई सुबिधा पुर्‍याउने लक्ष्य राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.