रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो

डिसी नेपाल
२ मंसिर २०८२ १६:३३
8
Shares

रौतहट । रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ।

यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।

विशेषगरी युवाहरू मतदाता परिचयपत्र बनाउने प्रक्रियामा सक्रिय रहेको भन्दै, दर्तामा युवाको सहभागिता बढ्दो रहेको उनले उल्लेख गरे।

कानुनले १६ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त हुने व्यवस्था गरे पनि मताधिकार प्रयोगमा १८ वर्ष हुनुपर्ने छ। नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिक आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने उनले बताए।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको मात्र मतदाता नामावलीमा नाम दर्ता हुने आयोगले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार नयाँ दर्ता भएका मतदातामध्ये पुरुष ३ हजार ५१८ र महिला २ हजार ५८९ र अन्यमा १ जना छन।

जिल्लामा यसअघि ४ लाख २१ हजार ६९३ मतदाता रहेकोमा थप ६,१०८ समावेश भएपछि कुल मतदाता संख्या ४ लाख २७ हजार ८०१ पुगेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *