रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

डिसी नेपाल
१६ असोज २०८३ ८:०५

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) को क्लब ‘सीडी एल्डेन्से’  खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै स्वीकृति प्राप्त भएसँगै क्लब हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो।

३९ वर्षीय मेसीले स्पेनी फुटबलमा लगानी गरेको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा उनले क्याटालन क्षेत्रको क्लब ‘कोर्नेला’ (UE Cornellà) खरिद गरेका थिए।

“१०० वर्षभन्दा पुरानो इतिहास बोकेको क्लब सीडी एल्डेन्सेको स्वामित्व लिओनेल मेसीले लिएको आधिकारिक घोषणा गर्दछौँ। यसले क्लबको इतिहासमा एक नयाँ र रोमान्चक अध्यायको सुरुआत गरेको छ,” एल्डेन्सेले आफ्नो आधिकारिक वेबसाइटमार्फत पुष्टि गरेको छ।

एलिकान्टे (Alicante) मा आधारित यस क्लबको खेलकुद, संस्थागत र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्यसहित मेसीको आगमन भएको क्लबले जनाएको छ। गत सेप्टेम्बरमा मेसी र क्लबबीच मुख्य सेयरधनी बन्ने प्रारम्भिक सहमति भएकोमा हाल आएर सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएको हो।

हाल २२ टोली सहभागी स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) मा एल्डेन्सेको प्रदर्शन कमजोर रहेको छ। लिगका सुरुआती सात खेलमध्ये केवल एक खेलमा मात्र जित निकालेको एल्डेन्से ५ अंकसहित तालिकाको १९ औँ स्थानमा सीमित छ। मेसीको प्रवेशसँगै क्लबको व्यवस्थापन र खेल प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ।

८ पटकका प्रतिष्ठित बालोन डी’ओर विजेता मेसी हाल अमेरिकी मेजर लिग सकेर को क्लब ‘इन्टर मायमी’बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप जिताएका मेसीले गत अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका छन्।

सन् २००४ मा १७ वर्षको उमेरमा स्पेनिस क्याटालन क्लब बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले सो क्लबका लागि ७७८ खेल खेल्दै कीर्तिमानी ६७२ गोल गरेका थिए। सन् २०२१ मा बार्सिलोनासँगको लामो सहयात्रा अन्त्य गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन पुगेका उनी सन् २०२३ मा अमेरिकी क्लब मायमीमा आबद्ध भएका हुन्।

पछिल्लो समय दिग्गज फुटबलरहरूले स्पेनी क्लबहरूमा लगानी बढाउने क्रम तीव्र बनेको छ। मेसीका मुख्य प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा अर्को स्पेनी क्लब ‘अल्मेरिया’ को २५ प्रतिशत सेयर खरिद गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *