कविता : लाल पुर्जा  

प्रकाशचन्द्र खतिवडा
६ मंसिर २०८२ ७:४३
16
Shares
रुग्ण सपना बोकेर
युद्ध जितिँदैन
युद्धमा मारिन्छन् मान्छे
बग्छ रगतको नदी
रगतले लेखिन्छ इतिहास
योद्धाहरुको वीर गाथा पनि।
आमाहरु प्रसव पीडामा छन्
योद्धाहरु जन्माउन
जब जन्मन्छ योद्धा
आमाहरु पीडामा पनि हाँसी दिन्छन्।
सुकलाल युद्धमा मारिएको छ
लक्षुमनीया बिलैना गाउँछे
सोहनलाल दुधमुखी नै छ
सुकुम्वासी वस्तीको टहरो
जस्ता च्यातिएर उदाङ्गो छ
शितलहरले विहानै हिर्काउँदा
सोहनलाल रुन्छ
लक्षुमनीया स्तब्ध बन्छे।
नयाँ सरकार बने सँगै
लाल पुर्जा बाँड्ने घोषणा हुन्छ
भूमि आयोग बन्छ
ख्वाइन्छ भत्ता
सुकुम्बासी समस्या
जस्ताको तस्तै रहन्छ।
सुकलालको श्रद्धाञ्जली सभामा
भूमी मन्त्री प्रमुख अतिथि बनाइन्छ
मन्त्री भाषण गर्छ
शहीद घोषणा गर्ने
आश्वासन बाँडेर
रोए जस्तो अभिनय गर्छ
अभिनय गर्न सिपालु छ मन्त्री
नाटकीय शैलीमा कशम खान्छ
सुकुम्बासीलाई वेवकुफ बनाएर।
दशौं वर्ष वित्दा पनि
सुकलाललाई शहीद घोषणा गरिएन
आतंककारीको विल्ला भिराएर
क्षतिपूर्ति दिइएन
सरकार ढल्यो
सरकार बन्यो
भूमि मन्त्रीले
लाल पुर्जा दिइन्नेछ भन्न नछोडेपछि
सुकुम्बासी वस्ती
प्रताडित भै रह्यो
मन्त्रीको तथाकथित भाषण सुन्नलाई।
सुन्दरहरैंचा-०६, दुलारी मोरङ 

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *