गण्डकी विश्वविद्यालयका नवनियुक्त निमित्त उपकुलपतिविरुद्ध अख्तियारमा योग्यता जालसाजीको उजुरी

डिसी नेपाल
९ मंसिर २०८२ १४:२४
372
Shares

काठमाडौं। गण्डकी विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा ५ वर्ष काम गरेपछि यही कात्तिकको अन्तिममा निमित्त उपकुलपति नियुक्त भएका कैलाश तिमिल्सिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ।

उनले विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा जागिर खाने बेलामा आफ्नो योग्यताको प्रमाणपत्रमा जालसाजी गरेको उजुरीकर्ताको आरोप छ।

उजुरीमा उल्लेख भएअनुसार विश्वविद्यालयको रजिष्ट्रारको रुपमा नियुक्तिका लागि स्नातकोत्तरसहित कम्तीका १० वर्ष अनुसन्धान वा अध्यापनको अनुभव वा ५ वर्ष व्यवस्थापकीय पदमा रही ५ वर्ष काम गरेको अनुभव वा विश्वविद्यालयको बरिष्ठ प्रशासकको रुपमा ४ वर्ष काम गरेको अनुभव आवश्यक हुने कानुनी व्यवस्था छ।

उजुरीकर्ताको दाबीअनुसार तिमिल्सिनाले ५ वर्ष व्यवस्थापकीय पदमा रहेर काम गरेको अनुभवको प्रमाण पेश गरेका थिए। उनले काठमाडौंको स्कुल अफ इन्भायरोनमेन्टल साइन्स एण्ड म्यानेजमेन्टमा एकेडेमिक डाइरेक्टरको रुपमा काम गरेको ५ वर्षको अनुभवको प्रमाण पेश गरेका थिए।

उनले काम गरेको भनिएको अवधिमा सन् २०१५ देखि २०१९ को अवधि पनि पर्छ । यही ४ वर्षको अवधिमा उनले थाइल्याण्डको माहिडोल विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेको उजुरीकर्ताको दाबी छ। उजुरीकर्ताका अनुसार उनले आवासीय विद्यावारिधि कार्यक्रममार्फत पीएचडी गरेका थिए जुन कार्यक्रम पूरा गर्न विद्यार्थी स्वयं विश्वविद्यालयमा उपस्थित हुनुपर्छ।

उजुरीमा दाबी गरिएअनुसार उनको पीएचडी वास्तविक हो र उनी त्यो अवधिमा थाइल्याण्डमै थिए। उनले रजिष्ट्रारको जागिर खानका लागि पेश गरेको अनुभव फर्जी भएको र थाइल्याण्डमा भएका व्यक्तिले काठमाडौंमा काम गरेको किर्ते अनुभवको प्रमाण बनाएर नियुक्ति लिएको उजुरीकर्ताले आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.