घाँटी थिचेर युवकको हत्या

डिसी नेपाल
२८ भदौ २०७६ १३:५९

जलेश्वर। महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७÷१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा आज बिहान करीब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए। बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो। बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो।

गाउँमा दुई÷तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो। तर अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने आज बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताए।

प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयारी गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *