फेरि नाकाबन्दी भए नेपाल-भारत पाइपलाइनबाट तेल आयात हुन्छ कि हुँदैन ?

डिसी नेपाल
२८ भदौ २०७६ १४:०८

काठमाडौं। पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेपछि कतिपयले भविष्यमा फेरि नेपाल र भारतबीच तनाव उत्पन्न भएमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्छ कि पर्दैन भन्ने चासो राख्न थालेका छन्। सन् २०१५ मा नेपालले नयाँ संविधान जारी गरेका बखत चार वर्षअघि भारतले अघोषित रूपमा नाकाबन्दी लगाउँदा त्यसको सबैभन्दा धेरै असर इन्धन आयातमा परेकाले पनि धेरैमा पाइपलाइनबाट हुने आपूर्तिबारे चासो उत्पन्न भएको हो। भारतले भने आफ्नो कारणबाट नाकाबन्दी भएको स्वीकार गरेको छैन।

गत मङ्गलवार भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डूबाट रिमोट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका थिए। औपचारिक कार्यक्रममा भिडिओ कन्फेरेन्सिङमार्फत् उनीहरूले परियोजनाबारे बोलेका थिए।

कतिपयले नाकाबन्दी वा दुई देशबीच युद्धको परिस्थिति सिर्जना भए एउटा स्वीच दबाएका भरमा आपूर्ति बन्द हुने परिस्थिति त सिर्जना हुँदैन भन्ने शङ्का पनि व्यक्त गर्ने गरेका छन्। यसबारे बीबीसीले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गर्दा पाइपलाइनबाट हुने आयातका लागि नेपाल र भारतबीच छुट्टै कुनै सम्झौता नभएको जानकारी दिइएको छ।

उनीहरूका अनुसार नेपाल आयल निगम र भारतीय आयल निगमबीच सन् १९७४ मा पहिलोपटक भएको र त्यसपछि हरेक ५ वर्षमा नविकरण हुँदै आएको ‘जेनेरल सप्लाई एग्रिमेन्ट’ अनुसार नै पाइपलाइनबाट आयात हुनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एकजना सहसचिव नवराज ढकालले भने, “पाइपलाइनबाट आउने तेलका हकमा पनि जनरल सप्लाई एग्रिमेन्ट नै लागु हुन्छ।”

उनले नेपाल आयल निगम र भारतीय आयल निगमबीच भएको त्यस सम्झौतामा पनि दुई देशबीच जुनसुकै परिस्थितिमा पनि आपूर्ति नरोकिने भन्ने खालको व्यहोरा उल्लेख भएको बताए। “त्यो खासमा व्यापार गर्न दुईवटा संस्थाबीच भएको सम्झौता हो तर पनि इन्धन नेपालका लागि रणनीतिक कुरा भएकाले त्यस्ता कुराहरू त्यसमा समेटिएका छन्,” उनल भने।

तर पाइपलाइनबाट हुने ढुवानी भाडाका सम्बन्धमा भने नेपाल र भारतबीच छुट्टै सम्झौता भएको उनले जानकारी दिए। ढकालले भने, “व्यापार सम्झौता भए पनि आकस्मिक अवस्थामा आपूर्ति रोकिने भन्ने हुँदैन।” नेपाल आयल निगमका अधिकारीहरू पनि दुई देशका आयल निगमबीच भएको सम्झौताले आकस्मिक परिस्थितिमा पनि इन्धन आपूर्ति रोकिने परिस्थिति नआउने बताउँछन्।

गत जुलाई ३० मा बीबीसीसँग कुराकानी गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि नेपाल र भारतबीच इन्धन आपूर्ति कुनै पनि बेला बन्द नहुने खालको सम्झौता रहेको बताएका थिए। उनले भनेका थिए, “कुनै पनि अवस्थामा आपूर्ति रोकिने वा नेपाललाई अन्यत्रबाट इन्धन ल्याउन रोक्ने खालका कुराहरू सम्झौतामा छैनन्।” जानकारहरूका अनुसार पछिल्लो नाकाबन्दीका बेला पनि भारतले इन्धन आपूर्ति रोक्नका लागि अन्य कारणहरू देखाएको थियो। त्यसबेला वीरगञ्जको सीमा क्षेत्रमा भएको प्रदर्शनलाई देखाएर आपूर्ति असहज बनाइएको थियो।

चार वर्षअघिको नाकाबन्दीका बेला नेपाल आयल निगमका वितरण विभाग प्रमुख रहेका मुकुन्द ढुङ्गानाका अनुसार त्यसबेला पनि भारतीय आयल निगमले ‘हामी इन्धन दिन चाहन्छौँ तर रक्सौलबाट तिमीहरूले लान सक्दैनौँ’ भन्ने गरेको बताए। उनले भने, “हामीले त इन्धन बिक्री गर्ने हो सरकारले बिक्री नगर्नु भन्ने आदेश दिएको पनि छैन त्यसैले इन्धन हामी दिन्छौँ। हामी व्यापार गर्ने संस्थाबीच बिक्री रोक्नुपर्ने कारण छैन तर तिमीहरूको पट्टि नै अवरोध छ भन्ने उनीहरूको भनाइ थियो।” भारतीय आयल निगमको त्यही भनाइका आधारमा नेपाल आयल निगमले रक्सौलको साटो अन्य नाकाबाट इन्धन आयात गरेको पनि ढुङ्गानाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *