चोरीको १० लाख २३ हजारसहित एक जना पक्राउ

डिसी नेपाल
२६ मंसिर २०८२ २०:२६
36
Shares

काठमाडौं । प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ। नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित राजश्री फाइनान्सबाट र गएराति १२:३० बजे काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरीको रु १० लाख २३ हजार ५०० नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका गजुरेललाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उनले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताए।

निजको साथबाट चोरीका सामानसहित खैरो रङको सोने लेखेको ब्याग एक थान, चोरी गर्दा प्रयोग गरेको हरियो रङको हुडी एक थान, स्पोर्ट लेखेको पञ्जा एक थान, चाँदीजस्तो धातु देखिने पाएल दुई थान, क्यानन क्यामेरा एक थान, नेक्सजेन लेखेको हार्डड्राइभ एक थान, विड् इलिमेन्टस् लेखेको हार्ड ड्राइभ एक थान, रजिष्टर एक थान, नागरिकता, विभिन्न कागजात तथा बैंकको चेक बरामद गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *