कांग्रेस जुम्लाको उम्मेदवार सिफारिस टुंगो, कान्तिका सेजुवाल पुनः प्रतिनिधि सभाका प्रमुख आकांक्षी

डिसी नेपाल
२ पुष २०८२ १०:१७
36
Shares

जुम्ला। कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो ।

जिल्ला समितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कर्ण बहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आचार्य रहेका छन् ।

कान्तिका सेजुवाल नेपालको पहिलो महिला मेयरका रूपमा स्थानीय शासन र महिला नेतृत्वको इतिहासमा स्थापित नाम हो । पितृसत्तात्मक संरचना बलियो रहेको समयमै नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला सहभागिता, स्थानीय विकास र सुशासनका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा पु¥याएकी थिइन्। उनको पुनः सक्रिय राजनीतिक उपस्थितिलाई कांग्रेसभित्र अनुभवी र प्रतीकात्मक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ।

त्यसैगरी समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको छ। जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, खस–आर्य समूहबाट धन बहादुर बस्नेत, गोविन्द बहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मी प्रसाद आचार्य र परेकलाल घर्ती रहेका छन्।

दलित तर्फ गोरख बहादुर सुनार, महिला तथा दलित तर्फ माया नेपाली, महिला तर्फ नेत्र कला शाही र नविना के.सी. बडुवाल तथा अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लाल बहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ।

यस्तै राष्ट्रिय सभाका लागि पनि चार जनाको नाम केन्द्रमा पठाइएको छ। काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन्।

कान्तिका सेजुवालको नाम पुनः सिफारिस हुनु केवल व्यक्तिगत राजनीतिक पुनरागमन मात्र नभई नेपाली राजनीतिमा महिला नेतृत्वको ऐतिहासिक योगदान र त्यसको निरन्तरताको सन्देशका रूपमा समेत हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *