एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले
काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनका क्रममा वरिष्ठ नेता कर्ण थापासँग भएको भनिएको विवादबारे कृष्ण सागर ओलीले स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियो क्लिपलाई लिएर घटनालाई अनावश्यक रूपमा बढाइचढाइ गरेर प्रस्तुत गरिएको उनको भनाइ छ।
ओलीका अनुसार पत्रकार सम्मेलन भइरहेकै बेला सुरक्षाका क्रममा तलबाट माथि जान खोजिरहेका पत्रकारहरूलाई केही बेर रोक्ने क्रममा अनायासै धक्का लाग्दा कर्ण थापा लड्न पुगेका थिए। ‘यो कुनै झगडा वा लडाइँ थिएन। म सुरक्षाको जिम्मेवारीमा थिएँ, उहाँ अग्रज नेता हुनुहुन्छ। उहाँलाई अपमान गर्ने मेरो कुनै नियत र कारण छैन,’ उनले भने।
कर्ण थापाले त्यस क्रममा सामान्य असन्तुष्टि व्यक्त गरे पनि विषयलाई ठूलो बनाउनुपर्ने अवस्था नरहेको उनको भनाई छ। ‘म उहाँलाई दाइ नै भन्छु। अग्रज नेताप्रति मेरो सधैं सम्मान छ,’ उनले दोहोर्याए। घटनापछि केही सञ्चारमाध्यममा आफूलाई लिएर गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘राष्ट्रिय टेलिभिजनमा गएर मेरो व्यक्तिगत विषय उठाउनु आवश्यक थिएन। सबै नेतामा कमजोरी हुन्छन्, म पनि अपवाद होइन। तर एकअर्कालाई दोषारोपण गर्नु ठीक होइन।’
उनले आफूले घटनालाई सामान्य रूपमा लिएको र व्यक्तिगत इगोको विषय नबनाएको प्रष्ट पारे। ‘मैले नदेखेर भएको सामान्य त्रुटिलाई लिएर इगोको रूपमा लिनुभयो भने त्यो उहाँको दृष्टिकोण हो,’ कृष्ण सागर ओलीले भने। महाधिवेशनको सन्दर्भमा उनले एमालेभित्र व्यापक उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष पदमा केपी शर्मा ओली भारी बहुमतका साथ पुनः निर्वाचित हुने दाबी गरे। ‘९० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू केपी ओलीलाई मतदान गर्न उत्साहित छन्,’ उनले भने।
त्यस्तै, सचिव पदका उम्मेदवार महेश बस्नेतको योगदानको खुलेर प्रशंसा गर्दै उनले पार्टीलाई कठिन परिस्थितिबाट यहाँसम्म ल्याउन ओली र बस्नेतको महत्वपूर्ण भूमिका रहेको बताए। ‘संकटको घडीमा पार्टीका लागि ज्यान जोखिममा राखेर नेतृत्व गर्नेहरू नै आजको अवस्था बनाउने हुन्,’ उनले भने। उनले एमालेको एकता, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि पुन केपी ओलीको नेतृत्व आवश्यक रहेको कृष्ण सागर ओलीले धारणा व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment