लघुकथा : द्वन्द्व

प्रकाशचन्द्र खतिवडा
५ पुष २०८२ ७:३३
56
Shares
“लेख्ने काम पनि नसा जस्तै रहेछ। नलेखौं भन्यो लेख्न मन लागि हाल्छ।” मैले तृष्णा तिर हेर्दै भनें। “तपाईंको लेखाइले न खान दिन्छ, न लाउन नै।” झर्कँदै तृष्णाले जवाफ फर्काइन्।
तृष्णालाई थाहै हुँदैन भावनाको कुरा। लेखौं भनेर लेखिने हो र? सबै मान्छे किन लेख्न सक्दैनन्? सबै मान्छे किन कवि कलाकार बन्न सक्दैनन्? त्यो विषयप्रति किन सोच्दिन तृष्णा? के धन सम्पत्ति र सुख भोग मात्रै जिन्दगी हो र?
मेरा साथी भाइ आउँदा पनि सकारात्मक बन्दिन तृष्णा। मेरो लेखन शैली मन पराएर मलाई भेटी धन्यवाद दिन दूर दरारबाट साथी भाइ आइ रहन्छन्। पत्रकार र सम्पादक पनि आइ रहन्छन्। पत्रपत्रिका र अनलाईनमा मेरा रचनाले ठाउँ पाइ रहेका छन्। मलाई दुनियाँले चिन्छन्। मेरो इज्जत बढिरहेको छ।
तृष्णा यो कुराप्रति मतलबै राख्दिन। उ चाहन्छे मैले लेख्ने काम छोडी बन्द व्यापार गरोस्। धन सम्पत्ति आर्जन गरी गरगहनाले पहेंलपुर बनाओस्। दैनिक फरक किसिमका पोशाकको व्यवस्था गरोस्। आलिसान जिन्दगीको  कल्पना गर्दै तृष्ण मलाई अर्जाप्छे। म प्रतिकृयाविहीन तृष्णाका कुरा सुनि रहन्छु।
धनी बाउकी एक्ली छोरी हो तुष्णा। उसलाई दुःख के हो? अनुभवै छैन। संसारमा गरिब पनि छन् भन्ने हेक्कै राख्दिन। धनीहरुले गरिवहरुको श्रम शोषण गरेकोप्रति उ अनभिज्ञ छे। धनी र गरिब बीच द्वन्द्व चल्ने कुरा उसले बुझेकै छैन।
म प्रगतिवादी मान्छे। म सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद मन पराउँदिनँ। म गरिबले सत्ता प्राप्त गरेको देख्न चाहन्छु। तृष्णा प्रगतिवादी बन्न सकिरहेकी छैन। उसलाई सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद प्यारो लाग्छ। उ गरिबप्रति अनुदार देखिन्छे।
हामी बीच गम्भिर बैचारिक मतभेद कायम रहे पनि, पारिवारिक द्वन्द्व कम गर्न म तृष्णाका कुरा सुन्छु। प्रायः  जवाफ फर्काउँदिन।
सुन्दरहरैंचा -६, दुलारी, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.