जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

डिसी नेपाल
३ पुष २०८२ १६:५०
28
Shares

बर्दिया। ऊर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए।

उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए। अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरीसकेको बताए। उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए।

मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यन्वयन हुन नसकेको बताए। सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन। पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ। पुलको लागत एक अर्ब १ करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो। भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए। त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल सिलन्यास गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.