खाडीमा बैंस बेचेर देश पालिरहेकाहरु

सुशील लामा
१४ पुष २०८२ १३:४३
724
Shares

बिटुलो हुँदै गरेको युग सँगै ङिच्च दाँत देखाएर बाँच्न जान्ने म बरालिएर हिँड्दै थिएँ, अनेकन उटपट्याङ कर्म गरेर। जस्तो कि धेरै दिन नलगाएको अण्डवेयरको चेपमा लुकेर भोकले मर्न आँटेको जुम्राको वध गर्नु।

छिमेकीका गोठमा बाँधेर राखेको गाई गोरु छोडिदिनु। साँच्चिकै ज्याद्रो उरुन्ठेउले “म“ बाध्यतालाई भ¥याङ बनाएर केही बर्ष अगाडि चढेको हो, हवाई जहाज जीवनमा पहिलो पटक।

नहराएको सपना खोज्न कहिल्यै नपुगेको देशान्तरमा पहिलो पटक पाइलो टेक्न बिवस भएँ।

कसैको जबर्जस्ती थिएन। स्वेच्छाले बनेको हुँ, अरबी बगैँचाको रिकुटे। अरबीको दरवान।

खाडीको बालुवामा पसिना मिसाएर हरियाली हराभरा बगैँचा त बनाएँ। तर आफ्नो पुर्खौली खेत-खलियान बाँझो हुँदैछ।
यता आउनु अगाडि मेरो छुट्टै थियो चुरिफुरी। घरकाहरुको अगाडि।

उता आफ्नै माटोमा रहेसम्म सम्मानित अस्तित्वलाई दाउमा राखेर ‘नाम्दु’ डाँडाको जोडी बर पीपल चौतारीमा दिनभरी बाघचाल खेलेर साँझ दिनभर काम गरेर थाकेको अर्धाङ्गिनीको अगाडि बाघ बनेर हुलिन्थ्यो घरमा।

अरब भन्दा धेरै सुन्दर छ मेरो देश। सुन्दर हुँदा हुँदै किन हरेक दिन हजारौं युवायुवती हवाई अड्डाको बाटोहुँदै चील गाडी चढेर निर्यात हुँदैछ, तन्नेरी युवाको श्रमशक्ति?
‘को हो यस्तो कुकर्म को जिम्मेवारी लिने मान्छे’? किन निरही छन् शासन गर्ने शासकहरु?

खैर !

म जस्तै लाखौं लाख युवा जलिरहेका छन्, जलाई रहेका छन्, परिवारको साथ, समाजको मायालाई भुलेर टाढाको भूगोलमा।

भ्रष्ट साशकको बर्बर अततायी छिप्पेको भ्रष्टाचारको रापमा डढेर देश त्राण मात्रै बाँकी राखेर जिउँदै छ।

गाउँ खाली भएको छ। खाली गाउँको गोरेटो बनमारा घारीमा हराउँदै छ।

समय बिक्दैछ, समय बिकेर बिश्वास बिश्वब्यापी रुपमा मज्जाले लिलाम हुँदैछ पैसामा।

पैसामा बिक्री हुँदा रहेछ जे पनि बेच्न जाने। त्यही बेच्न जान्नेहरुले बेची पठाएको म जस्तै एक हुल खाइलाग्दो बैंसालु युवा भेटेको थियो, झुमाको एउटा साँझ। मोहम्मद अलमदिनाको परिसरमा।

उनीहरु न दुःखी थिए, न खुशी। जीवन न्युटलमा नै चल्दैछ दाजु भन्दै थिए मुखाकृतिले।

हुलमा भएको एउटाको अनुहारमा अलि बेसिनै निराशा कुदेको देखेर ‘के भो भाइ भनेको’?

उनी भन्दै थिए-दाजु मेरो त संसारै डुब्यो।’

के भयो भाइ पुनः प्रश्न गरेँ।

‘दाइ म आएको तीन महिना भयो। आउँदा राम्रै थियो बा–

निक्कै खुशी हुनुहुन्थ्यो, धेरै योजना बनाउनु भएको थियो। तर अफसोच बा अस्ति बित्नु भयो भनेर खबर पाएँ। खबरलाई कम्पनीको आधिकारिक ब्यक्तिलाई सुनाएँ। मेरो दुःखद खबरको सुनवाइ प्रतिकुल बन्यो।’

‘तिमी नयाँ छौ। तिम्रो भिसा लागेको छैन। चाहेर पनि तिमी जान सक्दैनौ अहिले। ‘आएम सरी भन्दै मेरो अनुरोधको च्याप्टर क्लोज गर्यो’।

ती भाइले त उल्टै मलाई पो प्रश्न गरे।

‘दाजु लु तपाईं नै भन्नुहोस् म के गरौ’?

उता बा को पार्थिव शरीर अस्पतालको मुर्दा घरमा ढली रहेको छ। ‘म यता यसरी भौंतारिँदै छु, बर्णन गरेर साध्य छैन।’

त्यो भाइको कुरा र घटनाले मेरो मन यत्ति धेरै टुक्र भयो कि गनेर अंक देखाउने हो भने, मोबाइलको स्क्रिनमा अट्ने थिएन होला।

उदास मन लिएर फर्किएँ उही क्याम्पको कोठामा। जुन कोठामा अट्नु थियो दश जना नेपाली तन्नेरी दमदार जवान। जवान युवाको चुरिफुरीले हावा छिर्न पनि मुस्किल हुन्थ्यो।

आहा !

क्या गजबको मगमग बास आउने सुगन्ध चल्थ्यो कोठामा, साँच्चै भन्नु पर्दा त्यहीँ ठाउँमा पुगेर पहिलो पटक थाहा भएको हो कक्टेल पसिनाको सुगन्ध!
मासिक छुट्टीको अर्को एउटा अनुभूति

पहिला जस्तै यो पटक पनि घुम्न निस्किएका थियौं। शहर निक्कै सुन्दर थियो। कृतिम समुद्र बनाएर समुद्रमुनी बस्ती नै बसाएको थियो भन्दा फरक नपर्ला। आकाश छुन निस्केका सुरिला महलहरु।

प्रतिघण्टा सयभन्दा माथिको स्पिडमा कुदिरहेका बिश्वका चर्चित ब्राण्डका मोटर गाडी। कहीँ कतै आक्कल-झुक्कल सुन्दरतालाई बुर्खाको पर्दामा सजाएर हिँडेका अरबी महिलाको हाउभाउ। आवरण हेर्दै लोभ लागेर आउँथ्यो। मनमनै प्रेम गरिन्थ्यो। उनका देशका कडा कानुनलाई लत्याएर।

घुम्दै जाँदा एउटा नेपाली रेष्टुरेन्टमा पुगियो। अचेल नेपाली पुगेको देशको शहरहरुमा प्रायः छन् नेपाली परिकार पाक्ने खाजादेखि खाना पाक्ने भोजनालयसम्म।
गएर साथीसँगै बसेँ। मेनु मगाएँ र खानाको अर्डर गरियो, खाना आयो।

खाना खाँदै गर्दा रेष्टुरेन्टका मुख्य हलको देब्रेपट्टी कुनामा दुई तीन जना युवायुवती खासखुस गर्दै रेष्टुरेन्टमा आउनेसँग पैसा उठाउने काम गर्दै थिए।

मलाई चासो लाग्यो–के का लागि यो काम गर्दैछन्? प्लेटको खाना सक्काएर जुरुक्क उठेर उनीहरु छेउमा पुगेर बसेर सोधपुछ गरियो।
‘के का लागि यो सबै गर्दै हुनुहुन्छ’?

एक युवतीले भनिन्, ‘दाजु अस्ती भर्खर सडक क्रस गर्दा एउटा हाम्रो देशको साथी दुर्घटना परेर बित्नु भयो’।

‘फेरि उहाँ इलिगल हुनुहुँदो रहेछ।अहिले उहाँको शव एउटा सरकारी अस्पतालमा छ। उहाँको पार्थिव शरीर नेपाल पठाउन उठाएको हो चन्दा’।
उनको कुरा सुनेर ममाथि हजारौं टनको पहाड खसेको जस्तो भयो।

परदेशमा के सपना बोकेर आएका हुन्छन्? कहाँका हुन् उनी? को- को होलान् उनका घरमा?

ती बहिनी ले भने जस्तै वलेटबाट पचास दिराम निकालेर दिए। सोध्दै थियो मेरो नाम र ठेगाना।

साँञ्चै भन्ने हो भने नेपालीको जिन्दगी यति सस्तो भएको छ कि भनी साध्य छैन। उता देशमा केही माग लिएर सडकमा सरकार विरुद्ध आवाज उठायो भने मानवअधिकार उलंघन गरेर खुट्टामा हान्नु पर्ने कन्चेटमा दागेर जीवन लिन्छन्।

अनि दश लाख रुपैयाँमा मान्छेको मूल्य निर्धारण गर्छन्।

स्वदेशमा गरिखाने बाटो देखाउँदैनन्। भूमण्डली करणको कारण देखाउँदै देशलाई चाहिने युवा शक्ति बोका खशी जसरी बेच्न बहादुरी ठान्छन्।

मान्छेले मान्छे बेच्छन्। मान्छे बेचेर आएको पैसाले मान्छेले नै मोज गर्छन्। मान्छे बेचेर आएको पैसाले शहरमा घडेरी जोड्छन्। अर्को मान्छे बेचेर आएको पैसाले आलिसान घर बनाउँछन्। त्यस्तै–त्यस्तै पैसाले बिहे गर्छन्। बिहेमा भोज खान मन्त्री बोलाउँछन्, नेता बोलाउछन्, अनि देशकै ठूलो मान्छे भनेर कहलाउने करामत गर्छन्।
म पनि त बेचिएकै मान्छे हुँ। पराइ देशकाले होइनन् आफ्नै देशकाले।

अस्तीको घटना, आज सुनेको घटनाले मनमा उथलपुथल ल्याएको छ। आखिए मान्छे के चाहन्छन्?

मान्छेले मान्छे मार्दै गर्दा खुशी हुने मान्छे देखेँ। मान्छेले मान्छेलाई किन मार्छ? मान्छेले मान्छे मार्ने राइफल किन बनाउँछ?
निदाउँदा सपनामा पनि त्यस्तै बिरहले, बिछोडले लतारेको एउटा भाइसँग भेट भयो।

सपनामा भएको वार्तालाप।

नयाँ हो तिमी?

-हजुर दाइ।

टिठ लाग्दो आवाजमा बोल्दै थिए उनी।
कस्तो हुँदैछ परदेशी दैनिकी?

मेरो प्रश्न

के हुनु दाइ ऋण काटेर आएको केही राम्रो हुन्छ्की भनेर। आएको आधा बर्ष भयो, ऋणको साँवा होइन ब्याज तिर्नपनि नपुग्ने तलब थाप्छु।
मेरो सत्य कुरा थाहा पाएर परार साल ऋणै गरेर बिहे गरेको जीवन साथीले घर छोडेर हिँडेछिन्।

युट्युवतिर श्रीमन बिदेशमा श्रीमती अर्कैसँग टाइटल खबरले पो थाहा पाएँ। आफ्नै श्रीमतीले धोका दिएर हिँडिछे।
त्यो भाइको पुरै कथा सुन्न नपाउँदै सिरानीमा राखेको मोबाइलको अलरामले बिउझिँए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.