पुसे पन्द्र पर्वको मौलिकता र महत्त्व
नेपाली भाषा र संस्कृतीको मूल र प्राचिन थलो मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षभरी नै विभिन्न चाडपर्व मनाइन्छन्। यी चाडपर्वहरूमा आफ्नै मौलिकता भेटिन्छ, आफ्नै विशिष्ट पहिचान पनि। कर्णाली तथा सुदूरपश्चिमको लोकसंस्कृतीको परिचय दिने तमामौँ चाडपर्वहरू मध्ये ‘पुसे पन्द्र’ एक मौलिक चाड हो। पौष महिनाको १५ गते मनाइने हुनाले यो पर्वलाइ ‘पुसे पन्द्र’ भनिएको हो। यो पर्व प्राचीन समयदेखि नै मनाइँदै आएको पाइन्छ।
कसरी रहन गयो होला पुसे पन्द्र ?
अङ्ग्रेजी पात्रो अनुसार डिसेम्बर २१ तारिखलाई वर्षकै सबैभन्दा लामो/ठूलो रात र सबैभन्दा छोटो दिन भएको समयको रुपमा लिइन्छ। प्राचीन समयमा नेपालमा शिक्षा र प्रविधिको विकास भएको थिएन। गाउँघरमा पत्रिका, रेडियो, फोन जस्ता सञ्चारका आधुनिक साधन थिएनन्। तथापि मानिस मौसम र हावापानीको फेरबदलको आधारमा समय निर्धारण गर्न जान्दथे। सुर्यको उपस्थितिको आधारमा समय र मौसमको पूर्वानुमान लगाउन सक्थे। यहि आधारमा पुस १५ गते (डिसेम्बर २१ तारिखको नजिक) नेपाललगायत उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो भएको ठहरिन्छ। यस दिनबाट सूर्य दक्षिणतर्फ सर्ने (दक्षिणायण) अवस्थाको अन्त्य भई उत्तरतर्फ सर्दै जाने प्रक्रिया सुरु हुन्छ। अर्थात् दक्षिणायणको अन्त्य भई उत्तरायण सुरु हुने मान्यता राखिन्छ। यसै समयबाट दिन बढ्दै जाने र रात घट्दै/छोट्टिदै जाने मान्यता पनि रहिआएको छ।
प्राचीन कालको समय कृषि पेशामा निर्भर हुन्थ्यो। पुसको महिना चिसो हुन्छ। मानिसहरू सँग प्रशस्त लुगाकपडा हुन्थेनन्। जाडोबाट बच्न आगो ताप्नुपथ्र्यो। वर्सकै लामो रात काट्नु चानचुने कुरो पनि थिएन। दिउँसो त घाम लाग्थ्यो, न्यानो भैहाल्थ्यो। घरायसी र कृषि कार्यमा ब्यस्त हुन्थे। लामो रात अनि चिसो। यहि भएर पुस पन्द्र गतेको रातलाई विशेष पर्वको रुपमा मनाउन थाले। जसलाई ‘पन्द्रै रात’ भनेर चिनिन्छ। पन्द्रै रातमा जाडोको समय कटाउन गाउँभरीका मानिसहरू एक ठाउँमा जम्मा भएर आगो ताप्थे। तरुल, सखरखण्ड, पिँडालु इत्यादि खान्थे। बातै (गाउँ खाने कथा र दन्त्य कथा) हाल्दथे। युवादेखि बृद्ध सम्म, बच्चादेखि किशोरसम्म एक ठाउँमा जम्मा भएर रमाइला गफहरू गर्दथे। डेउडा खेल्दथे। मिठा–मिठा लोकपरिकारहरू पकाएर खान्थे। यसैको आधारमा पुस पन्द्र गतेलाई विशेष पर्वकै रुपमा मनाउन थालिएको होला भनेर अनुमान लगाउन सकिन्छ।
कसरी मनाइन्थ्यो पुसे पन्द्र ?
बसाइँसराइ, विज्ञानप्रविधिको विकास, भुमण्डलिकरणको प्रभाव, पेशा व्यवसाय, मानिसको व्यस्त दैनिकी इत्यादिको कारण नेपाली चाडपर्वहरूको मौलिक स्वरुप बिस्तारै परिवर्तन हुँदै गैरहेको पाइन्छ। पहाडबाट तराईमा बसाइँसराइ भएपश्चात पुसे पन्द्र मनाउने तरिका र समयमा पनि फेरबदल आएको देखिन्छ। प्राचिन समयमा जसरी पुसे पन्द्र मनाइन्थ्यो आजकाल धेरै भिन्नता पाउछौं। त्यो बखत गाउँले परिवेश हुन्थ्यो। मानिसको मुख्य पेशाव्यवसाय कृषि थियो। पुसको महिना कृषि कार्यबाट अलिकती फुर्सद पाइन्थ्यो। हिउँदका दिनहरू तुलनात्मक रुपमा फुर्सदिला हुन्थे। प्रकृति र मानिस एक आपसमा अत्यन्त अन्तरसम्बन्धित थिए।
पुस पन्द्र गतेको रात बर्षकै सबैभन्दा लामो हुन्थ्यो। त्यो बेलाका मानिसहरूले लामो रात कटाउने जुक्ती निकाले। गाउँलेहरू एक ठाउँमा जम्मा हुने। आगो तापेर जाडो भगाउने। तरुल, सखरखण्ड, पिँडालु इत्यादि खाएर शरीर तताउने। रातभर जाग्राम बस्ने। बातै (गाउँ खाने कथा, उखानटुक्का र दन्त्य लोक कथा) सुन्ने र सुनाउने।
पहाडमा सबैको घरमा गोरस हुन्थ्यो। घ्यूँ, मह प्रशस्त हुन्थ्यो। अन्नको अभाव हुन्थेन। सागतरकारी आफ्नै बारीमा हुन्थ्यो। जङ्गलमा बनैया फलफुल पाइन्थे। अधिकांशको पेशा कृषि हुन्थ्यो। व्यवस्थित दैनिकी थियो। परिवारका सदस्य सामान्यतया घरमै हुन्थे। चाडपर्वको आफ्नै महत्व हुन्थ्यो। सामान्य अवस्थामा पैसाको जरुरत पर्दैनथ्यो। चाडपर्वमा मौलिक परिकार पाक्थे। मन लागेको परिकार पकाउन बजार जानू पर्दैनथ्यो। पकवानका सबै सामग्री घरमै उपलब्ध हुन्थे। त्यसैले त चाडपर्व विशेष हुन्थे, मौलिक हुन्थे। स्वास्थ्यका दृष्टिकोणले बैज्ञानिक लाग्थे।
पुसे पन्द्रमा पनि प्रत्येकका घरमा निसौसे पाक्थे, माणा पाक्थे। सेल र पुरी पाक्थे, हलुवा र खिर पाक्थ्यो। डुब्का र बटुक पाक्थे। दाउराको अभाव थिएन। अगेनामा रातभरी आगो बल्थ्यो। रातभरी जाग्राम बस्न प्रयास गर्थे। मिठो भोजन सङ्गै रमाइला बात हुन्थे। गाउँ खाने कथा सुन्थे र सुनाउँथे। लोक कथाहरू सुन्थे र सुनाउँथे। लोक कथा र दन्त्य कथाका पात्रहरू राक्षस, भुत, देवता, प्रेत र राजारानी हुन्थे। प्रेम र युद्धका कथाहरू हुन्थे। नैतिक शिक्षा सिकाउने कथाहरू हुन्थे।
समाजका अग्रज पुस्ताका ब्यक्तिहरू यस्ता कथाहरू सुनाउँथे भने तन्नेरी र बालबच्चाहरू ध्यान दिएर यस्ता कथाहरू सुन्थे। एकै बातैले (कथा) रात कट्थ्यो। गाउँखाने बातै (कथा) हालिन्थे। सहि जवाफ दिन सकिएन भने कुनै गाउँको नाम बताउनुपथ्र्यो। गाउँखाने बातै सोध्ने ब्यक्तिले जवाफ दिने ब्यक्तीलाइ पुरै गाउँको नकारात्मक पक्ष खानु भनेर भन्थे। अनिमात्र सहि जवाफ भन्थे। यसरी पुस पन्द्र गतेको लामो रात कट्थ्यो।
आजकाल कसरी मनाइन्छ ?
समय फेरियो, बिज्ञान प्रबिधीले सम्पुर्ण ब्रह्माण्ड कब्जा गर्यो। बसाइँसराइको कारण चाडपर्वहरू अब कसैका निजि रहेनन्। विश्व भुमण्डलिकरणको बाछिटा चाडपर्व मनाउने परम्परा र चालचलनमा नपर्ने कुरै भएन। मानिसको जीवनशैली फेरियो, पेशाव्यवसाय फेरियो। प्रकृति फेरियो, प्राकृतिक स्रोत साधनको उपलब्धता घट्दै गयो। समयक्रम सङ्गै मानिसको दैनिकी फेरियो, रुचि र चाहना फेरियो। आवश्यकता फेरिए, प्राथमिकता फेरिए। पुस्तान्तरणको कारण परम्परागत मुल्य मान्यता, चालचलन र रितिरिवाजमा परिवर्तन आयो। सामाजिक सन्जालले मानिसलाइ बेफुर्सदिलो बनाइदियो। प्रकृतीसँग टाढिदै गयो सम्बन्ध।
पहाडमा जसरी र जुन शैलीमा हाम्रा चाडपर्वहरू मनाइन्थे, ठ्याक्कै त्यसरी नै तराईमा मनाउन सकिँदैन। जुन किसिमको प्राकृतिक स्रोत साधनको सहज उपलब्धता पहाडमा हुन्छ, त्यो तराईमा हुँदैन। त्यसकारण चाडपर्व उही भए पनि पहाड र तराईमा मनाउने शैली अलि फरक हुन सक्छ। पहाडमा पाक्ने परिकार र तराईमा पाक्ने परिकार फरक हुनसक्छन्। पहाडमा जुन किसिमको मौलिकता र स्वाद पाइन्छ त्यो तराईमा नपाइन सक्छ।
धेरैजसो हाम्रा चाडपर्वहरू पहाडी जिवनबाट सुरु भएका छन्। त्यसकारण ती चाडपर्वहरूको मौलिक स्वरुप खोज्न पनि पहाड नै पुग्नुपर्छ। गाउँ नै छिर्नुपर्छ।
बाँजको दाउराबाट बनेको कोइलाको जत्तीको राप र ताप तराईका दाउराले दिन नसक्ला। घट्टमा पिसेको चामलको पिठोबाट बनेको निसौसे जति स्वादिष्ट हुन्छ, त्यति आधुनिक मिलमा पिसेको पिठोमा नहोला। काठको कठेमा जमाइएको दहिको स्वादलाइ डेरीको दहिले कसरी पो जित्ला र ? जङ्गलमा गइ आफैले कोरेर ल्याएका तौड (तरुल) को स्वाद जति मीठो हुन्छ, तराईमा बेच्न राखिएका बासी तरुलको स्वाद त्यति मीठो नहोला।
समयक्रमसँगै चाडपर्वको नाम उही रहेतापनी मनाउने तरिका फेरियो, पाक्ने परिकार फेरिए। तरपनी महत्व कत्ती पनि घट्दैन। पहाड/गाउँमा आगोको तापमा तावामा पाक्ने निसौसे अहिले सहरमा बिधुतिय प्यानमा पाक्दैछन्। अगेनामा रातभरी बल्ने आगो ड्रमको सिमित घेरामा बल्छ सहरमा। पुसे पन्द्र त गाउँमा नि मनाउछन्, सहरमा पनि। तर मौलिकता फरक फरक छ। रातभरी अनिदो बसेर सुनिने र सुनाइने गाउँ खाने बातै (कथा) र लोककथाहरू फेसबुक, टिकटक र युट्युबमा पोस्टिदै छन् सहरमा। तरपनी खुशीको कुरो परम्परादेखि चल्दै आएको चलन बसाइँसराइ भएतापनी नयाँ पुस्ताले अनुसरण गर्दैछ।
पुसे पन्द्रको महत्व
पुसे पन्द्रको साङ्स्कृतीक र सामाजिक महत्व त छँदै छ। यो सँग जोडिएका गाउँ खाने बातै (कथा) र लोक कथा तथा दन्त्य कथा भन्ने र सुन्ने जुन अभ्यास छ, त्यसले ब्यक्तिको बौद्धिक बिकासमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्छ। गाउँखाने बातै (कथा) भन्ने जुन सङ्स्कृती छ, त्यो लोकसाहित्यको महत्वपूर्ण अङ्ग हो। यस्ता कथाहरू सरल देखिए पनि ती भित्र गहिरो सोच, तर्क र बुद्धिको प्रयोग आवश्यक पर्छ। सबैभन्दा पहिले गाउँ खाने कथाले सोच्ने बानिको बिकास गराउँछ। कथा सुनेपछी तुरुन्तै जवाफ नआउने हुँदा सुन्ने ब्यक्तीले किन यसो भनिएको होला भन्ने प्रश्न मन्थन गर्छन्। यसले गहिरो सोच्ने र समस्या समाधान गर्ने क्षमता बढाउँछ। दोस्रो, कथामा लुकेको अर्थ बुझ्न कारण परिणामको सम्बन्ध खोज्नुपर्ने हुँदा यसले तर्कशक्ती र बिश्लेषणात्मक क्षमता बिकास गर्छ। पुसे पन्द्र/पन्द्रै रातमा सोधिने गाउँखाने बातै (कथा) मा एउटै बातैको पनि फरक फरक उत्तर सोच्न सकिन्छ, जसले नयाँ बिचार जन्माउन सक्छ। लामा लामा बातै (लोककथा/दन्त्य कथा) ध्यान दिएर सुन्न, बुझाउन, सम्झन मानसिक प्रक्रिया चुस्त दुरुस्त हुनुपर्छ। त्यसकारण बातै भन्ने र सुन्ने कार्यमा ब्यक्तिको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बलियो हुन्छ।
आफूले सुनेका कथाहरूलाई पुनः अरु कसैलाई सुनाउनु चानचुने कुरो होइन। समग्रमा भन्नुपर्दा प्राचीन कालदेखी मनाउँदै आएको पुसे पन्द्र/पन्द्रै रातमा जुन गाउँखाने बातै (कथा) र लोककथा भन्ने र सुन्ने परम्परा छ, त्यसले मनोरञ्जन मात्र नभै ब्यक्तिको मानसिक तिक्ष्णता, तर्कशक्ति, भाषा क्षमता र समग्र बौद्धिक बिकासका लागि उपयोगी भुमिका खेल्दछन्।
चाडपर्वहरू हाम्रो समाज, सङ्स्कृती र जिवनशैलीसँग गहिरो रुपमा जोडिएका हुन्छन्। ब्यस्त जीवनमा समय निकालेर परिवारसँग बसेर चाडपर्व मनाउँदा आत्मिय सम्बन्ध बढ्छ। आपसी मेलमिलाप बढाउँछ। हाम्रो भाषा, परम्परा, रितिरिवाज र सङ्स्कृतीलाइ जोगाउँछ। पुसे पन्द्र लोक साहित्यका गाथा सुन्ने र सुनाउने एक सुनौलो अवसर पनि हो। अग्रज पुस्ताले नयाँ पुस्तालाई सङ्स्कार, परम्परा र जीवनमुल्य सिकाउने अवसर पनि हो। हाम्रो सामाजिक जीवनलाई रङ्गिन, एकताबद्द र सन्तुलित बनाउने महत्वपूर्ण आधार चाडपर्व हुन्।
के गर्नु आवश्यक छ ?
बसाइँसराइ, आधुनिकता, सहरीकरण र भुमण्डलिकरण आदिले चाडपर्व मनाउने तरिका परिवर्तन हुँदै गएको छ। चाडपर्वहरूको मौलिकता गुम्न थालेको छ। बिदेशी सङ्स्कृतीको प्रभाव हाम्रा रितिरिवाज र चालचलनमा पर्न थालेको छ। जसको कारण चाडपर्व हाम्रा भएतापनी मनाउने शैली र तरिका हाम्रो मौलिक छैन। हामी आफ्नो मौलिक शैलीलाइ गुमाउँदै गैरहेका छौँ। मौलिकता गुम्नु भनेको परिचय हराउँदै जानु पनि हो। अतः हाम्रा चाडपर्वहरूको मौलिकता गुम्न नदिन हामिले घर परिवारमै पुराना रितिरिवाज अनुसार चाडपर्व मनाउनुपर्छ। नयाँ पुस्ताका बालबालिका र युवालाई सहभागी गराउनुपर्छ। चाडपर्वको अर्थ, ईतिहास र महत्व नयाँ पुस्तालाइ बुझाउनुपर्छ। समय र परिबेश अनुसार चाडपर्वलाई नयाँ तरिकाले मनाए पनि मुल सङ्स्कार छोड्नुहुन्न।
सहरमा पनि सम्भव भए सम्म गाउँ/टोलस्तरमा सामुहिक रुपमा चाडपर्व मनाउने कार्यक्रम आयोजना गर्न सकिन्छ। विद्यालयका पाठ्यक्रममा पनि पठन सामग्रीको रुपमा हाम्रा स्थानिय मौलिक चाडपर्वहरूलाइ समेट्नुपर्छ।
















Facebook Comment