सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समूह पक्राउ
जनकपुर। धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समूहलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समूहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको हो।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमई) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम–९ घर भई हाल धारापानी चोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका ३७ वर्षीय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षीय बलराम मण्डल, धनौजी गाउँपालिका–२ का २० वर्षीय रुपेश कुमार साह र सोही स्थानका १९ वर्षीय निक्की कुमार राम रहेका छन्।
उनीहरुले ठगी गरी विभिन्न व्यक्तिको नाममा खोलीएको वालेट आईडीबाट हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
पक्राउ परेकाहरुमध्ये आईएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहका मानिसले आफन्त तथा घर परिवारका सदस्यको नाममा अन्य मुलुकबाट रेमिटान्स पठाएको रकम निकाल्न आउँदा नागरिकता र फोटो आवश्यक पर्ने भन्दै प्रतिलिपि निकाली वालेट आईडी बनाउने गरेको खुलेको छ।
त्यस्तै पक्राउ परेका मोबाईल पसल सञ्चालक मण्डलले सिम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्कयाएर उनीहरुको नाममा अन्य सिमकार्ड निकाली वालेट आईडी बनाएर आईएमई सञ्चालक भुजेललाई दिने गरेको खुलेको छ।
त्यस्तै ठगी गर्ने मुख्य व्यक्तिहरु बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार रामले भने सामाजिक सञ्जालमार्फत नक्कली प्रोफाईल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाईकललगायतको विभिन्न किसिमका फोटो र भिडियो पोष्ट गरी विज्ञापन गर्ने गरेको खुलेको छ।
सो विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणहरुले पठाउने रकम वालेट आईडीमा राखेर उनीहरु सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जानकारी दिए।
यस ठगीमा पक्राउ परेका साधु रामले भने मोबाईल पसल सञ्चालक मण्डलबाट वालेट आईडी तथा वालेटमा प्रयोग हुने सिम कार्ड खरीद गरी उक्त वालेट आईडी आफ्नो मोबाईलमा लगईन गरी उक्त आईडीको क्युआर कोड सामाजिक सञ्जालमार्फत पोष्ट भएको विज्ञापन देखेर प्रलोभनमा परेका सर्वसाधारणहरुलाई पठाउने र रकम प्राप्त भएपछि सोबाट २५ देखि ३० प्रतिसत कमिसन लिई बाँकी विज्ञापन पोष्ट गर्ने तिनै जनालाई दिने गरेको खुलेको छ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १९ थान मोबाईल, ४ वटा ल्यापटप, एप्पल कम्पनीको एउटा आईप्याड, ठगी गर्न प्रयोग भएको २० वटा सिमकार्ड, सिमकार्डको सिरियल नं. तथा सिम कार्ड नं.मात्र खुल्न आएको ५५ वटा कभर र इन्टरनेटका ३ वटा राउटर फेला पारेर नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरुको विरद्धमा ३ जनाले जाहेरी लेखी पेश गरेकोले सोसहित अनलाई ठगी सम्बन्धी मुद्यामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।







डिसी नेपाल








Facebook Comment