बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन (तस्बिरहरू)

डिसी नेपाल
१८ पुष २०८२ १५:१७
28
Shares

रौतहट। रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्वपश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भूभागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ।

हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन्।

बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

हुस्सु लागेको बेला अगाडिको सडक प्रष्ट नदेखिने हुँदा सवारी साधन अत्यन्तै कम गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए।

उनले फग लाइट र हेडलाइटको प्रयोग गर्ने , सवारी साधनको दुरी कायम राख्ने, रिफ्लेक्टिभ स्टिकरको प्रयोग गर्ने र इन्डिकेटर र साइड लाइटको अनिवार्य प्रयोग गर्न सुझाव दिए।

जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ।

जिल्लाको चन्द्रनिगाहपुर मात्र नभई अन्य स्थानहरूमा पनि शीतलहर र हुस्सुको प्रभाव बढेको छ। चिसोका कारण बजार, शैक्षिक संस्था र सरकारी कामकाज समेत प्रभावित भएको छ भने सर्वसाधारणहरू चोकचोकमा आगो तापेर बसेका देखिन्छन्। मौसममा आएको यो परिवर्तनले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई बढी समस्यामा पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.