गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो

रासस
१९ पुष २०८२ ७:२२
20
Shares

गुल्मी। नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको संख्या जम्मा ३५५ पुगेको छ। नेपाल पन्छी संरक्षण संघले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन्।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरु फेला परेको नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए। सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवतीे वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताए।

यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो। नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ।

विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा छ प्रजातिका चराहरु पाइन्छन्। ती चराहरुमा रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ। संघले विभिन्न समयमा गरेकोे पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा फेला परेका छन्।

तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा ३५५ प्रजातिका चराहरुको तथ्यांक अभिलेख गरिएको छ।

संघले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनमा टेवा पुर्‍याउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.