कविता : अर्को हिमाल 

प्रकाशचन्द्र खतिवडा
२६ पुष २०८२ ७:३१
116
Shares
जुगुप्सा पालेर
बाँच्नुको परिभाषा नखोजे हुन्छ
भोर घोडा चढेर आउँदैन
त्यो क्षितिज कोट्याउँदै आउँछ
सूर्योदयको रक्तिम किरण देखिए पछि
तिमीले हिमाल उक्लनु पछ
तिम्रो अदम्य साहास देखेर
हिमाल मुस्कुराउने छ
चराहरु नाच्ने छन्
धरती गीत गाउने छ।
मान्छेहरु थकित देखिएका छन्
अथकित यात्रा टुंगिएको छैन
म एउटा यक्ष प्रश्न बोकेर हिँडिरहेको छु
मृत्युसँग किन हार्छ मान्छे?
मेरो यात्रा विदीर्णपूर्ण छ
यात्राबाटै लखेटिएको छु म
मबाट दूर भएका छन् यात्रीहरु
मिलन विन्दु तोडिएको छ।
मेरो एकल यात्रा जारी छ
म भागेको छैन यात्राबाट
मलाई हेक्का छ
मलाई लखेट्नेहरु पश्चतापले जलिरहेछन्
बाटो विराएर तिनीहरु
दिशाहीन भएका छन्।
मलाई असफल बनाउने षड्यन्त्र बुनिएको छ
दोष सबै मेरो टाउकोमा थोपरेर
तिनीहरु पानी माथिको आभानो बन्ने कुचेष्टा गर्छन्
म बोक्न तयार छैन
आरोपित आरोपहरु
म शेरिन तयार रहुँला
रोकिने छैन मेरो यात्रा
रोकिने छैन मेरो गति।
मैले अनेकौं हण्डर पचाएर
मृत्यु सँग पौठेजोरी खेल्दै
मैले मेरो जीवन बचाएको छु
मलाई हुतिहारा भन्नेहरु
आफैं झुण्डिएर मरेको देखेको छु
म पनि अजम्बरी छैन
मर्नु भन्दा अगाडि सुन्दर इतिहास लेखेर मर्ने छु।
जब तिमी हिमाल उक्लन्छौ
बग्ने छन् खुशीका आँसु
पूरा हुने छन् आमाको सपना
युग प्रसव पीडामा छ
बहादुर छोराहरु जन्माउन
तिम्रो पाइलामा
पाइलाहरु खाप्तै
अर्को हिमाल उक्लन
शब्दार्थ 
जुगुप्सा = घृणा विदीर्ण =  कष्ट
भोर = विहानी यक्ष प्रश्न = ज्यादै कठिन प्रश्न
सुन्दरहरंैचा–०६, दुलारी मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.