प्रमुख शाह र उपप्रमुख डंगोलबाट वडा नम्बर ३२ को प्रशासनिक भवन शिलान्यास

डिसी नेपाल
३ माघ २०८२ १६:०६
88
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ।

आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेका हुन्।

४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ। भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो। यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ। निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो। काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए। भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत, नापी जस्ता महानगरपालिकामा थपिँदै आउने सेवा समेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडाबासीका लागि गौरवको क्षण भएको उनको भनाइ थियो।

भवनको गुणस्तरको कुरा गर्दै उनले वडाबासीलाई भने, ‘यसको गुणस्तरीयता कायम गराउन यहाँहरुले समय समयमा आएर कसरी काम भइरहेको छ? योजना अनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनु पर्छ।’

त्यस क्रममा धारणा राख्दै उपप्रमुख डंगोलले वडा प्रशासनिक भवन निर्माण हुनुलाई भौतिक संरचनाका रुपमा मात्र नभइ विकेन्द्रीकरणको पूर्वाधारका रुपमा हेरेको बताइन। ‘महानगरपालिकाभित्रका वडा प्रशासनिक भवनमध्ये यो सबैभन्दा ठूलो संरचना हुनेछ। यसका लागि धेरै लगानी हुनेछ। यो लगानीको प्रतिफलका रुपमा नागरिकका सेवाको अपेक्षालाई सरल, सहज, चुस्त र प्रभावकारी बन्ने अवस्थाको अपेक्षा गरेका छौं,’ उनले भनिन्।

७ हजार ७० वर्गफुट क्षेत्रफल हुने भवनको भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनेछ। २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला ७ हजार २०३ वर्गफुटको हुनेछ। भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ। भर्‍याङ् छोप्ने भाग ६९० वर्गफुटको हुनेछ। भवनको बाहिर विश्राम स्थल, बगैँचा र भविष्यमा स्वास्थ्य प्रवधैन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ।

परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा २ वटा लिफ्ट र २ वटा भर्‍याङ् हुनेछन्।

वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.