रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन्।
ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन्। उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन्।
उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ। अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ।
ढकालले स्थिर सरकार, प्रशासनिक सुधार र दीर्घकालीन राजनीतिक नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन्। उनले इतिहासमै पहिलो पटक पाँच वर्षसम्म एकै प्रधानमन्त्री रहने व्यवस्था स्थापित गर्नुपर्ने र कर्मचारीतन्त्रका समस्या समाधान गरेर देशको काँचुली फेर्ने लक्ष्य लिएको बताएका छन्।
आगामी निर्वाचनमा गुल्मीले १६५ निर्वाचन क्षेत्रमध्ये ‘मतान्तर प्रतिशतका आधारमा’ सबैभन्दा ठूलो जित हासिल गर्ने विश्वास ढकालले व्यक्त गरेका छन्। साथै, गुल्मीको प्रभाव छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ र प्युठानसम्म विस्तार हुने उनको दाबी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment