राजीनामा दिएपछि खरेलले भने : ‘जेनजी पुस्ताप्रति नतमस्तक छु’

डिसी नेपाल
६ माघ २०८२ ११:४९
88
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकाल र जेनजी जनआन्दोलनप्रति धारणा राखेका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खरेलले जेनजी जनआन्दोलनको जगमा बनेको प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको सरकारमा आफूले असोज ६ गतेदेखि माघ ५ गतेसम्म करिब चार महिनाको अवधिमा मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको बताए । उनले उक्त अवधिमा देश र जनताको सेवा गर्न पाएकोमा गौरव महसुस गरेको उल्लेख गरे।

खरेलले जेनजी आन्दोलनका प्रतिनिधिहरूले देखाएको साहस र राजनीतिक चेतनाको खुलेर प्रशंसा गरे। उनले २७ घण्टाभित्रै मुलुकको राजनीतिमा कायापलट ल्याउने गरी भएको जनआन्दोलनले देशलाई परिवर्तनको बाटोमा अगाडि बढाएको बताए।

उनले भने, ‘जेनजी जन आन्दोलनको जगमा बनेको प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको यो सरकारमा मैले असोजको ६ गतेबाट आज माघको ५ गते चार महिनाको अवधि सञ्चार तथा सुचना प्रविधि मन्त्रीको रुपमा देश र जनताको सेवा गर्ने अवसर पाए । जेनजी आन्दोलनको क्रममा जेनजी प्रतिनिधिहरुले जुन शाहस देखाएर २७ घण्टाको अवधिमा मुलुकको राजनीतिमा एउटा कायापलट हुने गरेर जन आन्दोलन गर्नु भयो र त्यो जनआन्दोलनले आज मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाइरहेको छ । म जेनजी पुस्ताहरुमाथि नतमस्तक भएर सलुट गर्न चाहन्छु ।’

उनले उमेरले राष्ट्रसेवामा कुनै फरक नपर्ने उल्लेख गर्दै जेनजी पुस्ताले नेपाल आमाप्रतिको माया, आत्मीयता र समर्पण प्रमाणित गरेको बताए । जेनजी प्रतिनिधिहरूको निस्वार्थ आन्दोलनप्रति सधैं सम्मान रहने उनको भनाइ थियो ।

आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दै खरेलले मन्त्री बनेपछि चार महिनाको अवधिमा मन्त्रालयअन्तर्गत ४० भन्दा बढी महत्वपूर्ण निर्णय कार्यान्वयनमा गएको जानकारी दिए । साथै मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूले हासिल गर्नुपर्ने १५० भन्दा बढी उपलब्धिहरू पनि यस अवधिमा प्राप्त भएको उनले दाबी गरे । पत्रकार सम्मेलनमा उनले परिवर्तनको जगमा मुलुकलाई अगाडि बढाउने काम निरन्तर जारी रहने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाल आमाको सेवा गर्नको लागि, माया गर्नको लागि, आत्मियता देखाउनको लागि उमेरले केही फरक पर्दैन । जेनजी पुस्ताले त्यो प्रमाणित गर्यो । जुन राजनीतिक चेतना देखाएर आज परिर्वतन भएको छ । त्यो परिवर्तनको जगमा मुलुकलाई अगाडि बढाउने काममा छौं । निस्वार्थ जेनजी प्रतिनिधिहरुको आन्दोलनप्रति मेरो सधैंभरी सम्मान रहने छ । मैले मन्त्री भएपछि यो चार महिनाको अवधिमा मन्त्रालय अन्तरगतका ४० भन्दा बढी महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा गएको छ । उपलब्धिहरु हासिल भएको छ । त्यो बाहेकका मन्त्रालय अन्तरगतका निकायहरुले हासिल गर्नुपर्ने उपलब्धिहरु १५० भन्दा बढी भएका छन्। यी उपलब्धिहरु चार महिनाको अवधिमा सञ्चार मन्त्रालय अन्तरगत भएका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.