१ सय ६५ सिटका लागि ३ हजार ४ सय ८४ उम्मेदवार मैदानमा
काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ मंगलबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले देशभर ३ सय ९५ महिला, ३ हजार ८८ पुरुष र ३ समलिंगी तथा तेस्रो लिंगीले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा भएको मनोनयनमा सबैभन्दा कम उम्मेदवारी मनाङ–१ मा पाँच जना दर्ता भएको छ। यहाँ चार राजनीतिक दलले मात्र उम्मेदवारी दिएका छन्।
मुस्ताङमा पनि पाँच जनाको मात्र उम्मेदवारी परेको छ। सबैभन्दा बढी उम्मेदवारी धनुषा–३ मा ४५ जनाको परेको छ। मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार (आज) बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ।
बुधबार नै दिउँसो ३ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसैदिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ। शुक्रबार ९ माघ बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment