कविता : अम्बिकादेवी

प्रकाशचन्द्र खतिवडा
१० माघ २०८२ ७:३२
104
Shares

अम्बिकादेवीको चोला रहेन
निःशब्द
निष्प्राण
खटमा पार्थिव शरीर कात्रोले बाँधेर
समयले एकोहोरो शङ्ख फुक्यो
विनोद र पेशलको
कपाल मुण्डन गरियो
रीता रोई रही
देवकी र शारदा
झोक्राइ रहे
मृत्यु जितेर गयो
मान्छे हारेर रोयो
फूलहरु मुस्कुराएनन्
मलामीहरु उदाश देखिए पछि।

कालेकी माइजू हुन अम्बिकादेवी
कालेलाई स्नेह दिने
काले मौन छ
आँखाहरु लोलाइ रहेछन्
शिर झुकेको छ
श्रद्धान्जली भन्न सकेन
एकोहोरिएर हेरि रह्यो टुलुटुलु
एउटा जीवनको अन्त्येष्टि कर्म।

अम्बिकादेवीको लाश
चितामा चढाइयो
दिइयो दाग बत्ति
लगाइयो आगो
हेर्दा हेर्दै
छिन भरमा
खरानीमा रुपान्तरण भयो
एउटा मान्छेको सारा जिन्दगी
र माटोमा मिल्यो
कहिल्यै नफर्कने गरी।
आफन्तहरुले विलौना गरे
दिए समवेदना
मातृ वियोगले छटपटिएका सन्तानहरु
अश्रु मिश्रित हेराई हेर्छन्
शान्त्वना थाप्छन शुभेच्छुकहरुको
मृत्युलाई सरापी
कम्पित स्वरमा
धन्यवाद फर्काउँछन्
औपचारिकता पूरा गर्दै।

म मृत्युसँग प्रश्न गर्छु
मृत्यु, जीवन चुँड्छस किन?
मृत्यु, तेरो मृत्यु छ कि छैन?
म देख्न चाहन्छु
तेरो मृत्यु
र म मलामी जाने छु
मृत्यु जलाउने गरी।
पीडाले मुटु खोपिए पछि
अवाक बन्दो रहेछ मान्छे
काले मौन प्रार्थना गर्दै
अम्बिकादेवीलाई मट्टि दिन्छ
अनि सुस्ताउँछ
सप्तकोशी किनारमा
सयौ मलामीहरुको भिडमा पनि
आफूलाई एक्लो ठानी।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *