समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
काठमाडौं। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन्। यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन्। समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन्। आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।
आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन्। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो।
आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो। त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ।
यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्दसूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिएआएका १० जनाको नाम समेत हटाइएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment