काेहलीले तोडे रोहितको रेकर्ड, भारतको सहज जित

डिसी नेपाल
२ असोज २०७६ ६:१९

एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । माहोलीमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

भारतको जितमा कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । कोहलीले अविजित ७२ रन बनाए । उक्त पारीसँगैसँगै कोहली टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २ हजार ४ सय ४१ रन बनाएका कोहलीले भारतको रोहित शर्माको कीर्तिमान तोडेका हुन् । रोहितले २ हजार ४ सय ३४ रन बनाएका छन् । यस्तै शिखर धवनले ४० रन जोड्दा श्रेयस ऐयरले १६ रन बनाए । रोहित शर्मा भने १२ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले लक्की, कार्ल फोर्टुन र ताब्रेज साम्शीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै टेम्बा बाभुमाले ४९ तथा डेभिड मिलरले १८ रन बनाएका थिए । भारतका दिपक चाहरले २ विकेट लिए । नभदिप सैनी, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले १–१ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दुईबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी आइतबार हुनेछ । त्यसपछि दुई टोलीले तीन खेलको टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *