रौतहटको नमुना सामुदायिक वनमा आगलागी, एक करोड बढीको काठ नष्ट
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ।
उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
विगत २०७६ सालमा ४ सय केभी विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटिएका ती सालका गोलियाहरू वन क्षेत्रमै घाटगद्दी गरेर राखिएका थिए। उपभोक्ताहरूको माग र आवश्यकता हुँदाहुँदै पनि समूहको आन्तरिक विवाद र प्रक्रियागत ढिलाइले काठ अलपत्र अवस्थामा थियो।
जुडिबेला सब–डिभिजन वन कार्यालयका अधिकृत बालकिशोर सिंहका अनुसार, समूहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र समूहले लामो समयदेखि लेखापरीक्षण तथा साधारण सभा नगरेका कारण काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। समयमै बिक्री नहुनु र डिभिजन वन कार्यालय तथा उपभोक्ता समूहबाट प्रभावकारी गस्ती नहुनु नै यति ठूलो क्षतिको मुख्य कारण मानिएको छ।
प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले गर्मी र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको बताए। आगलागी भएको जानकारी ढिलो गरी प्राप्त भएकाले पनि क्षति बढी भएको उनको भनाइ छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment