चुनावी चहलपहलसँगै चन्द्रगढी विमानस्थलमा कडा सुरक्षा

डिसी नेपाल
१ फागुन २०८२ १९:१३
28
Shares

सुरुङ्गा (झापा)। निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको हो। विमानस्थलको टर्मिनल बाहिरको सुरक्षा जिम्मा लिँदै अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एक नफ्री तैनाथ गरिएको छ। हालका लागि करिब २५ जना सैनिक खटाइएको जनाइएको छ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार विमानस्थलको पेरिमिटर बाहिर सेनाले सुरक्षा सम्हालेको छ भने पेरिमिटरभित्रको सुरक्षा विमानस्थलका सुरक्षा गार्डले हेर्ने व्यवस्था मिलाइएको छ। प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना प्रहरी विमानस्थल सुरक्षा गार्डका रूपमा खटिएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौंबाट हवाई मार्ग हुँदै झापा आउने–जाने राजनीतिक व्यक्तित्वको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। झापा–५ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनमै चन्द्रगढी विमानस्थल हुँदै दुईपटक झापा आएर काठमाडौँ फर्किएका छन्। केपी शर्मा ओलीका प्रतिस्पर्धीको रूपमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) एकपटक सोही विमानस्थल प्रयोग गरी झापा आए।

झापा–३ का उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, इलाम–२ का उम्मेदवार सुहाङ नेम्बाङ, एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि चन्द्रगढी विमानस्थल नै प्रयोग गर्दै आएका छन्।

दमक–९ स्थित मिनी दरबारमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका परिवारका सदस्यहरू यही विमानस्थल हुँदै राजधानी ओहोरदोहोर गर्ने गरेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप सतर्कता अपनाइएको विमानस्थल कार्यालयले जनाएको छ। झापाका उम्मेदवार मात्र होइन, इलाम, पाँचथर र ताप्लेजुङका उम्मेदवारले चन्द्रगढी विमानस्थललाई मुख्य आवागमन बिन्दुका रूपमा प्रयोग गरिरहेका छन्।

दैनिक करिब एक हजार ८०० यात्रु आवतजावत गर्ने चन्द्रगढी विमानस्थल देशकै सातौँ ठूलो विमानस्थलका रूपमा चिनिन्छ। यहाँ दैनिक १३ वटा विमानले उडान भर्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.