गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

डिसी नेपाल
१ फागुन २०८२ २१:२९
20
Shares

काठमाडौं। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ। विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो। अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ।

विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो। सिफारिस भएर आएको मूल्यमा विभागीय मन्त्रालयले थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने विभागले जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उत्पादन लागत र अन्य सान्दर्भिक आधारहरू समेटेर गरेको मूल्य सिफारिसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने उनले बताए।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने छ। यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए। सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाउँदै उहाँले यस वर्ष २२ लाख मेट्रिकटन गहुँ उत्पादन हुने अनुमान गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.