रास्वपाको नागरिक करारपत्र सार्वजनिक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ। सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको हो।
आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ। करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य निर्धारण गरिएका छन्। पहिलो प्राथमिकतामा सदाचार र असल शासन अन्तरगत सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधारको लक्ष्य तोकिएको छ।
दोस्रो प्राथमिकतामा मध्यमवर्गीय विस्तार छ। यस अन्तरगत औसत प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी पनि रास्वपाले गरेको छ। यसैगरी, आधुनिक बैङ्किङसहित वित्तीय सेवामा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य गर्ने करारपत्रमा उल्लेख छ।
नागरिक करारपत्रमा भनिएको छ, “वंशजको नागरिकताको निरन्तरता र सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गरिनेछ, तपाईँहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्त डेलिभरीसहित पाँच वर्षभित्र बुझाउन नसकी तपाईँ नागरिकलाई मर्का पर्न गएमा संविधान, मौजुदा कानुन र सामाजिक करारअनुसार हाम्रो ‘राजनीतिक नैतिकता र पद’बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असूल उपर गरी लिनुहोला। यसमा हाम्रो पार्टीका सम्पूर्ण सदस्यको मन्जुरी छ।”
रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएको छ। सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारमा ती रोजगारी सिर्जना गरिने करारपत्रमा उल्लेख छ। यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको लक्ष्य छ। दश राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने करारपत्रमा उल्लेख छ। रास्वपाले विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिलाउने वाचा गरेको छ।








डिसी नेपाल







Facebook Comment