जनतासँगै बसेर समस्या समाधानको प्रतिबद्धता जनाउँदै खड्ग फागो घरदैलोमा
उर्लाबारी । मोरङ–१ मा आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
सोमबार मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार र तोरिबारी क्षेत्रमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो ।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, कृषि पूर्वाधार विस्तार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले जनप्रतिनिधि जनताकै बीचमा बसेर समस्या सुन्ने, छलफल गर्ने र प्राथमिकताका आधारमा समाधान खोज्ने खालको हुनुपर्ने अपेक्षा व्यक्त गरे ।
उम्मेद्वार फागोले आफू निर्वाचित भएमा सुशासनलाई पहिलो प्राथमिकता बनाउँदै अधुरा तथा अपुरा विकास योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘जनताको मतले संसद् पुगेपछि पनि म जनताकै बीचमा रहनेछु । समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्न निरन्तर लागिपर्नेछु,’ उनले भने ।
स्थानीयहरूले फागोलाई विजयी गराएर संसद् पठाउने विश्वास व्यक्त गर्दै मोरङ–१ मा नेपाली कांग्रेसको माहोल दिनप्रतिदिन मजबुत बन्दै गएको प्रतिक्रिया दिएका छन् । चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा देखिएको सक्रियता र उत्साहलाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।







डिसी नेपाल







Facebook Comment