विधेयक छिटो टुङ्ग्याउन संसदीय क्षमता बढाउने कांग्रेसको योजना : गगन थापा

डिसी नेपाल
८ फागुन २०८२ ८:५०
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून निर्माण प्रक्रियालाई छिटो बनाउने तर विधायिकाको अधिकार संकुचित नगर्ने बताएका छन् ।

बिहीबार आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले फास्ट ट्र्याक लेजिस्लेसनको अवधारणा अधिकार कटौतीका लागि नभई परिणाम छिटो दिनका लागि मात्र भएको स्पष्ट पारेका हुन् ।

उनले संसदीय समितिहरूलाई थप प्रभावकारी बनाउने, आवश्यक स्रोतसाधन उपलब्ध गराउने तथा संसदबाहिर रहेका सरोकारवालाहरूलाई पनि विधेयक छलफलमा सहभागी हुने वातावरण बनाउने कांग्रेसको योजना रहेको बताए।

‘फास्ट ट्र्याकले रिजल्ट छिटो दिने कुरा हो। तर त्यो लेजिस्लेसनको फास्ट ट्र्याक कसरी गर्ने भन्ने कुराको सन्दर्भमा संसदीय समितिहरूलाई थप प्रभावकारी कसरी बनाउने, थप रिसोर्स कसरी दिने र त्यो संसदभित्र कुनै पनि विधेयकमा छलफल हुँदै गर्दा संसदभन्दा बाहिर रहेको सरकारवालाहरूले पनि त्यसमा सहभागी हुन कसरी पाउने, यो कुरा सुनिश्चित गर्छौँ,’ उनले भने, ‘हामीले घटाउन खोजेको कुरा अनावश्यक ढिलाइ हो, अधिकार होइन।’

थापाले विद्यालय ऐन, स्वास्थ्य ऐन, दलित अधिकार कार्यान्वयनसम्बन्धी ऐन तथा सुरक्षा र प्रहरी व्यवस्थासँग सम्बन्धित कानुनहरू समयमै ल्याउन नसकिएको उल्लेख गर्दै संसदको विधायिक क्षमता बढाएर ती ऐनहरू छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे। उनले फास्ट ट्र्याक कानून निर्माणका नाममा सांसदहरूको विधायिक अधिकार संकुचित गर्ने काम नगर्ने स्पष्ट पारे ।

यसैगरी, पूँजीबजार सुधारलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको उनले बताए। इन्साइडर ट्रेडिङ तथा अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गरिने, साना लगानीकर्ताको हितका लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी बनाइ पूर्ण कार्यान्वयनमा लैजाने उनले बताए ।

धितोपत्र बजारलाई विश्वसनीय बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउने, साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गरी सेटलमेन्ट प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने उनले बताए।

‘इन्साइडर ट्रेडिङ र अस्वाभाविक चल्खेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्दै साना लगानीकर्ताको हितको लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी बनाउँछौँ र पूर्णरूपमा कार्यान्वयनमा लिएर जान्छौँ,’ उनले भने, ‘धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडीएससीको संरचनाको सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउँछौँ। लगातारको कुराहरू, हामीले यहाँ भित्र समेटेका छौँ।’

कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत कानून निर्माण प्रक्रिया छिटो, संसद प्रभावकारी र पूँजीबजार पारदर्शी बनाउने एजेन्डा अघि सारेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.