मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायको दाबी : ‘चुनौती पार गर्दै जित सुनिश्चित गर्छु’

डिसी नेपाल
८ फागुन २०८२ १३:२७
20
Shares

मकवानपुर। नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्यायले पुरुषप्रधान समाजमा चुनाव लड्नु चुनौतीपूर्ण भए पनि आफूले ती सबै चुनौती पार गर्दै अघि बढेको बताएकी छन्।

चुनावी भेटघाटका क्रममा बोल्दै उपाध्यायले अहिलेसम्मको आफ्नो राजनीतिक यात्रालाई संघर्षपूर्ण तर आत्मविश्वासले भरिएको बताइन्। ‘चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेकी छु, अब बाँकी चुनौती पनि पार गरेर अघि बढ्छु,’ उनले भनिन्। उनका अनुसार प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दलले आ–आफ्नो मोडेल र एजेन्डा प्रस्तुत गरिरहेका छन्।

तर नेपाली कांग्रेसले विगतदेखि नै देश, लोकतन्त्र र संविधानको संरक्षणमा खेलेको भूमिकालाई आधार बनाएर फरक ढंगले मतदातामाझ प्रस्तुत भइरहेको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘देशलाई संकटबाट जोगाउने, लोकतन्त्र र संविधानको रक्षा गर्ने कार्यमा नेपाली कांग्रेस अग्रपंक्तिमा रहँदै आएको छ। अब ती उपलब्धिहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै मुलुकलाई रूपान्तरण गर्ने लक्ष्य हाम्रो हो।’

उपाध्यायले नेपाली कांग्रेसलाई सबै वर्ग, समुदाय र मुद्दालाई समेट्न सक्ने मूलधारको पार्टीका रूपमा चित्रित गर्दै आम मतदाताले अन्ततः सही निर्णय गर्ने विश्वास व्यक्त गरिन्। ‘मतदाताले समग्र विषयलाई समेट्न सक्ने शक्तिका रूपमा नेपाली कांग्रेसलाई हेर्नु भएको छ,’ उनले भनिन्। महिला मतदाताबाट आफूले विशेष साथ पाएको दाबी गर्दै उपाध्यायले नेपालको संविधानलाई महिला मैत्री बनाउन र महिला अधिकार सुनिश्चित गर्न आफूले खेलेको भूमिकालाई मतदाताले मूल्यांकन गरिरहेको बताइन्।

‘संविधानमा सुनिश्चित गरिएका महिला अधिकारको संरक्षण र कार्यान्वयनका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु। त्यसको न्याय मतदाताले गर्ने विश्वास लिएको छु,’ उनले भनिन्। उपाध्यायका अनुसार महिला सशक्तीकरण, समान अधिकार र समावेशी सहभागिता नै आफ्नो चुनावी अभियानको मुख्य आधार हो। पुरुषप्रधान संरचनाभित्र प्रतिस्पर्धा गर्नुपरे पनि महिला नेतृत्वलाई स्थापित गर्ने संकल्पका साथ आफू अघि बढेको उनले स्पष्ट पारिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *